काठमाडौँमा उपत्यकामा बढ्दै छ बसोबासको खतरा !
केही दिनअघि ललितपुरको बखुण्डोलमा निर्माणाधीन अपार्टमेन्टका कारण आसपासको जमिन भासियो । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा जमिन भासिएको घटना यो पहिलो भने होइन । उपत्यकाको भौगर्भिक बनोट, अव्यवस्थित सहरीकरणका कारण मुलुकको केन्द्रीय राजधानी नै वसोवासका लागि जोखिमयुक्त बन्दै गएको देखिन्छ ।
काठमाडौं उपत्यका मुलुकको राजधानी सहर हो । यहाँ प्रमुख प्रशासनिक केन्द्र, औद्योगिक विकास, शिक्षा, स्वास्थ्य र रोजगारी लगायतका पक्ष केन्द्रिकृत छन् । यसै कारण मुुलुकभरबाट काठमाडौं वसोबास गर्नेहरुको संख्या हरेक वर्ष बढ्दो क्रममा छ । जनगणना २०७८ को तथ्यांक अनुसार काठमाडौँ उपत्यकाको जनसंख्या ३० लाख छ । आवासिय, व्यापारीक र औद्योगिक प्रायोजनका लागि भवन निर्माणको संख्या दिनप्रतिदिन बढिरहेको छ तर अव्यवस्थित संरचना निर्माण र सहरीकरण रोकिएको छैन । यस्तो अवस्थाले काठमाडौं वसोवासका लागि नै जोखिमयुक्त बनिरहेको छ ।
अवैधानीक भौतिक संरचनाको चाप र नागरिककै लापरवाहीका कारण उपत्यकामा जमिन भासिने, बाढि र डुवानको समस्या निम्तने गरेको छ । संरचना निर्माण गर्दा उपत्यकाको जमिनको प्रकार, बनोट र अवस्थितीलाई ध्यानमा राख्नुपर्ने हो । तर न सर्वसाधारणले यसमा विचार पुर्याउने गरेका छन्, न त कानुनी आधार भएको स्थानीय तहले संरचना निर्माणमा कडाई गर्न सकेका छन् ।
काठमाडौँ उपत्यककाको भौगार्भिक बनावटका कारण भौतिक संरचना निर्माण गर्दा प्राविधिक मापदण्डहरुमा ध्यान पुर्याउनुपर्ने जानकारहरु बताउँछन् । उपत्यकाको केन्द्रीय भागमा कमजोर प्रकृतिको कालो माटोको अवस्थिती ज्यादा रहेको छ । एकातर्फ कमजोर बनोट अनि अर्कोतर्फ पछिल्ला वर्षहरुमा देखिएको अनियन्त्रित संरचना निर्माण जोखिमका कारण बनिरहेका छन् ।
सहरीकरणलाई व्यवस्थित बनाउने भन्दै सहरी विकाश मन्त्रालय, काठमाडौं उपत्यका विकास प्राधिरण तथा नगरपालीकाले भवन निर्माण कार्यविधिदेखि जोखिम न्यूनिकरणका लागि आधारभूत मापदण्ड बनाउने गरेका छन् । तर, अनुगमन र कार्यान्वयन प्रभावकारी हुन नसक्दा सहरी विकाशको मापदण्ड कागजमै सीमित हुने गरेको छ । काठमाडौँ महानगरले पछिल्लो समय भवन निर्माणका मापदण्डमा प्रवेश गर्न चाहेपनि सतही कारवाहीबाट माथि उठ्न सकेन । अझ अन्य निकायले त यसको प्रयासनै गरेका छैनन् ।