मकवानपुरका सामुदायिक वनमा जताततै डढेलो, डिभिजन वनका कर्मचारी रमिते
हेटौंडा । मकवानपुरका सामुदायिक वनमा जताततै डढेलो लागेको छ । हिजो आज मकवानपुरका बिकट गाउँ देखि हेटौंडा बजार क्षेत्रका वनहरुमा समेत आगलागी भइरहेका छन् । यता डिभिजन वन कार्यालय मकवानपुरका कर्मचारी भने रमिते बनेका छन् । फागुन महिनाको अन्तिम देखि अहिले सम्म मकवानपुर जिल्लाका सामुदायिक वनहरू डढेलोको जोखिममा पर्न थालेका छन्।
मकवानपुरका दश वटै स्थानीय तहका सामुदायिक वनहरुमा डढेलो लाग्नेक्रम रोकिनुत कताहो कता अझै धेरै बढ्न थालेको छ । विगत केही दिनदेखि जिल्लाका विभिन्न सामुदायिक वनमा दैनिकजसो डढेलो लाग्दै आएको स्थानीयले बताएका छन्। सामुदायिक वनहरूमा डढेलो लागेका कारण संरक्षण गरेका वनजङ्गल नष्ट हुने र नजिक रहेका घरगोठमा आगलागी हुने डर रहेकाले स्थानीय त्रसित हुन थालेका छन्।
मकवानपुरको मकवानपुरगढी गाउँपालिका, हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, बकैया गाउँपालिका, बागमती गाउँपालिका, मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका क्षेत्रका सामुदायिक वनहरुमा डढेलो लागेका छन् ।
डढेलो निभाउनका लागि साुमदायिक वन समुहमा रहेका उपभोक्ताहरुले पनि खासै चासो दिएका छैनन् । विभिन्न सामुदायिक वनमा दैनिक रूपमा डढेलो लागिरहेको स्थानीयले बताएका छन्। जङ्गलमा सुकेका पातपतिङ्गर डढेलोले सल्किएपछि नयाँ घाँस पलाउने लोभमा पनि कतिपय ठाउँमा घाँसी तथा गाईगोठालाले लुकेर आगो लगाउने गरेको पाइन्छ। आगोले वनजङ्गलमा डढेलोको रूप लिँदा वन, वनस्पति, वन्यजन्तुमा ठूलो नोक्सानी हुने गरेको छ।
डढेलोले संरक्षित साल तथा अन्य जातका रुख, वनस्पति, चराचुरुङ्गी र जीवजन्तुलाई प्रत्यक्ष असर गर्ने डिभिजन वन कार्यालय हेटौंडाले जनाएको छ। सामुदायिक वनमा आगलागी हुँदा हरेर बस्नुपर्ने बाध्यता रहेको डिभिजन वन कार्यालय हेटौंडाका प्रमुख शिब सापकोटा बताउनुहुन्छ । हरेक दिन वनहरुमा आगलागी भइरहेका छन् । तर, आगलागी नियन्त्रण गर्ने थोरै मात्र जनसक्ति भएकाले हेरेर बस्नुपर्ने अवस्था आएको बताउनुभयो । जताततै आगलागी हुँदा पनि त्यही भएका कर्मचारी र सामुदायिक वनका उपभोक्ताहरुलाई लिएर डढेलो नियन्त्रण गर्ने प्रयास भने कमै भएका छन् ।