बागमती प्रदेशका दुइ मन्त्रीमा कांग्रेसका बहादुर र तिर्थको सपथ ग्रहण, अझै ५ मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । प्रदेशमा आफुले सम्हालेका ८ वटा मन्त्रालय मध्यमा २ वटा मन्त्रालयमा दुइ जना मन्त्रीलाई नियुक्त गरेर आज साँझनै सपथ ग्रहण गराइएको हो । नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहनु भएका बहादुर सिंह लामाको नेतृत्वमा कांग्रेस प्रदेश सरकारमा गएको हो ।
बहादुर सिंह लामा आर्थिक मामिला तथा योजना मन्त्री र काभ्रेका कांग्रेस सांसद तिर्थ लामा खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रीका रुपमा नियुक्त गरेर आजै सपथ ग्रहण गर्नुभयो । दुवै जना मन्त्रीलाई आज प्रदेश प्रमुख यादब चन्द्र शर्माले सपथग्रहण गराउनुभयो ।
अरु बाँकी मन्त्रीको सल्लाह पनि गर्दै गर्ने र आज भने आफु सहित दुइ जना सरकारमा गएको कांग्रेस संसदीय दलका नेता लामाले बताउनुभयो । एकिकृत समाजबादीका तर्फबाट पनि आज मन्त्री बनाउने तयारी भएपनि उसको पार्टीबाट मन्त्री बन्नेको नाम प्राप्त नभएको उहाँले बताउनुभयो ।
प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले बिश्वासको मत लिएको १६ दिन पछी आज बल्ल दुइ जना मन्त्री मात्र नियुक्त गर्नु भएको हो । अझै मुख्यमन्त्रीले अरु ५ वटा मन्त्रालयको जिम्मेवारी आफैले लिनु भएको छ । कांग्रेस सहितका दलहरुले मन्त्री बन्नेहरुको नामावली नपठाउँदा मन्त्रीपरिषद् विस्तारमा ढिलाइ भएको हो ।






