सनेसमाथि हेटौँडामा अन्तरक्रिया

जनपत्र
२६ चैत्र २०७९, आईतवार ०७:२६

हेटौंडा । साहित्यकार रेणुका जिसीको कथा सङ्ग्रह ‘सनेस’ माथि हेटौँडामा अन्तरक्रिया भएको छ । साहित्य सङ्गम मकवानपुरको आयोजनामा शुक्रबार सम्पन्न कार्यक्रममा सनेस बारे कवि सुवास खनालले परिचर्चा तथा लेखकसँग बहस गर्नु भएका थियो ।

साहित्य सङ्गम तथा सिस्नु पानी मकवानपुरको सभा हलमा सङगम उपाध्यक्ष सानु खनालको सभाध्यक्ष्यतामा भएको उक्त कार्यक्रममा कवि तथा आख्यानकार भूपिन प्रमुख अतिथि रहनु भएको थियो र स्वागत मन्तव्य कोषाध्यक्ष मनोज पोखरेलले राख्नुभएको थियो ।

कथा सङ्ग्रहबारे चर्चा गर्दै खनालले १२ कथा रहेको उक्त कृतिमा अधिकांशत ः नारी मूल चरित्र रहेका कथाहरू भएको र नारीहरूका पीडा तथा अनुभूतिलाई समेटिएको बताउनु भयो । कथा सङ्ग्रहले पहाड र मधेस मिश्रित भूगोलका विषय समेटेको उहाँले प्रष्ट पार्नुभयो । बहसको रुपमा सञ्चालित उक्त कार्यक्रममा खनालले ‘किन तपाईँका कथामा समाविष्ट नारी पात्रहरू बढी सङ्घर्षशील र असल चरित्रका देखिएका र पुरुष पात्रहरूचाहीँ स्वार्थी, अवसरवादी तथा पेलाहा देखिएका’ भन्ने प्रश्न गर्दा कथाकार जिसीले ‘आफूले देखेका र भोगेका विषयवस्तु नै कथा बनेर आएकाले समाजको मूल चरित्र नै त्यस्तो देखिएकाले कथामा त्यसो भएको हो’ भन्ने टिप्पणी गर्नुभयो ।

सङ्ग्रहबारे बोल्दै प्रमुख अतिथि भूपिनले कथासङ्ग्रहको विषयवस्तु आञ्चलिक रहेको र लेखन बोल्ड रहेको प्रतिक्रिया दिनुभयो । कार्यक्रममा कवि निमेष निखिल, मुक्तककारहरू रुद्र अधिकारी,प्राञ्जल, दीपक गौतम डिबी बर्तौला ,विश्वनाथ सञ्जेल , नियात्राकार रमेशमोहन अधिकारी, आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटा, सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने लगायत सर्जकहरूको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*