टेलिभिजन वितरणमा ‘आला कार्ट’ प्रणाली लागू, रोजेको च्यानलमात्र हेर्न पाइने

जनपत्र
२५ चैत्र २०७९, शनिबार ०८:५२

काठमाण्डाै – टेलिभिजन हेरेबापत लाग्ने शुल्कलाई पारदर्शी, व्यवस्थित तथा वैज्ञानिक बनाउन भन्दै ‘आला कार्ट’ प्रणाली लागू भएको छ ।

यो प्रणाली कार्यान्वयनमा आएसँगै टेलिभिजन च्यानलहरूको सिग्नल वितरण गर्ने केबुल, एमएसओ, डीटीएच, आईपीटीभीजस्ता संस्थाले उपभोक्ताबाट लिन पाउने शुल्कमा एकरूपता कायम भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार अबदेखि यस्ता संस्थाले टेलिभिजन च्यानलहरूको न्यूनतम शुल्क मासिक करसहित २ सय ५० रुपैयाँ मात्र लिन पाउनेछन् । यस्ता च्यानलहरूमा सूचनामूलक, समाचारमूलक, शिक्षाप्रद, मनोरञ्जनात्मक, खेलकुद आदि विषय समावेश भएको हुनुपर्नेछ ।

सशुल्क र न्यूनतम प्याकेजसमेत गरेर तत्कालका लागि बढीमा करसहित मासिक पाँच सय रुपैयाँभन्दा बढी लिन नपाउने व्यवस्था गरिएको छ । यो व्यवस्थापछि ग्राहकले आफ्नो रुचिअनुसारका च्यानल छनोट गरेर त्यो हेरेबापतको मात्र शुल्क तिर्न पाउनेछन् ।

सशुल्क टेलिभिजन च्यानल रोज्ने वा नरोज्ने भन्ने निर्णय पनि ग्राहक आफैँले गर्न पाउनेछन् । यो व्यवस्थापछि टेलिभिजनका ग्राहकले आफ्नो छनोटका च्यानलहरु सीमित शुल्कमा हेर्न पाउनेछन् भने एकाध च्यानलमात्र हेर्न चाहे पनि पूरै शुल्क तिर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*