निगमकाे संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गर्न समिति गठन

जनपत्र
२५ चैत्र २०७९, शनिबार ०८:२७

काठमाण्डाै – सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गर्न समिति गठन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका अनुसार नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको अध्यक्षमा पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिका सदस्यहरूमा ओम गुरुङ (क्याप्टेन), टीकाराम राई (सञ्चारकर्मी), पियुस आनन्द (वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट) र सहारा न्यौपाने रहनुभएको छ ।

निगमको संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गरी सिफारिस गर्न अध्ययन समितिले अध्ययन प्रतिवेदन तयारी गरी मन्त्रालयमा पेस गर्नेछ । आर्थिक रूपमा निकै कमजोर अवस्थामा पुगेको निगमले जहाज खरिदबापतको झन्डै ५० अर्ब रुपैयाँ ऋणभार वहन गरिरहेको छ ।

बजार विस्तार र व्यावसायिक योजना ल्याउन नसक्दा निगमले व्यावसायिक सफलता हासिल गर्न सकेको छैन । पर्याप्त जहाज नहुँदा अन्तर्राष्ट्रिय गन्तव्य विस्तार र बजारीकरण प्रभावकारी हुनसकेको छैन ।

निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइडबडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० जहाज छन् । आन्तरिक उडानमा मात्र दुई थान ट्विनअटर जहाज छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*