छरिएका रकमहरू पुँजीको रूपमा जम्मा गरी अर्थतन्त्र चलायमान बनाउनुपर्छ : अध्यक्ष नेपाल
काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विभिन्न ठाउँमा छरिएर रहेका साना–साना रकमहरू पुँजीको रूपमा जम्मा गर्नसके अर्थतन्त्रलाई चलायमान बनाउन थप सहज हुने बताउनुभएको छ ।
शुक्रवार काठमाण्डाैमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले घरघरमा छरिएका साना–साना रकमहरू पुँजीको रूपमा जम्मा गर्नसके वर्तमान अर्थतन्त्रका केही समस्याको सम्बोधन हुने बताउनुभयो । उहाँले विदेशमा कमाएर पठाएको रकम र नेपालमा नै कमाएको रकम खर्च गर्नुभन्दा बढी पुँजीको रूपमा सञ्चय गर्नसके राज्यकोषको वृद्धि हुने बताउनुभयो ।
अध्यक्ष नेपालले भन्नुभयो, ‘हामी चाहन्छौँ, घरघरमा छरिएका सानासाना रकमहरू पुँजीको रूपमा जम्मा भए हुन्थ्यो । हामी चाहन्छौँ, विदेशमा कमाएर नेपालमा पठाएको पैसाहरू उपभोग गरेर खर्च गर्नुभन्दा बढी पुँजीको रूपमा सञ्चय गर्नसके राज्यको कोषमा पनि वृद्धि हुन सक्थ्यो । लगानीमा उपयोग हुन सक्ने थियो । लगानीको निम्ति पैसाको अभाव हुने थिएन । किनभने थोपा थोपाले नै विशाल समुद्र बन्छ । थोपा थोपा रकम जम्मा गर्ने हो भने, मानिसहरूसँग छरिएर रहेका रकम जम्मा गर्ने हो भने त्यसको आकार ठूलो हुन्छ ।’
अध्यक्ष नेपालले मिटरब्याज पीडितलाई न्याय दिन सरकार अघि बढिसकेको उल्लेख गर्नुभयो ।






