हेटौँडा औद्योगिक क्षेत्रका ९० बढी उद्योगको उत्पादन ४० प्रतिशतमा खुम्चियो, साउनयता पाँच उद्योग बन्द

जनपत्र
२४ चैत्र २०७९, शुक्रबार ०९:४८

हेटौंडा । मुलुकको अर्थतन्त्र धान्नेदेखि आर्थिक वृद्धिदरमा भूमिका खेल्दै आएका उद्योगहरू नै धराशायी बन्न थालेका छन् ।आर्थिक मन्दीका कारण औद्योगिक प्रतिष्ठानहरूमा ठूलो प्रभाव परेको छ । देशकै ठूलो क्षेत्रफलमा फैलिएको हेटौँडा औद्योगिक क्षेत्रका ९० भन्दा बढी उद्योगहरू धराशायी बन्न पुगेका छन् । कोरोना महामारीमा धराशायी बनेका उद्योगको अवस्था बढ्दो आर्थिक मन्दीले पुनः दोहोरिएको छ । पछिल्लो समय आर्थिक वृद्धिदर घट्नु र बजार महँगी अत्यधिक बढ्नुले हेटौँडाका उद्योगहरूको उत्पादन ४० प्रतिशतमा सीमित भएको उद्योग सङ्घ मकवानपुरले जानकारी दिएको छ ।

औद्योगिक क्षेत्रभित्र १३ वटा सरकारी कार्यालय, बैङ्कलगायतका कार्यालयबाहेक १ सय ३३ वटा उद्योगको नाममा जग्गा सम्झौता भएको छ । जसमा २० वटा उद्योग पूर्ण रूपमा बन्द भइसकेका छन् । बाँकी १ सय १३ वटा उद्योगमा पनि २० वटा निर्माणाधीन अवस्थामा रहेको र केहीले हाल उत्पादन बन्द गरेको सङ्घले जनाएको छ । पूर्ण रूपमा बन्द उद्योग र निर्माणाधीन अवस्थाबाहेक हेटौँडा औद्योगिक क्षेत्रमा हाल ९० देखि ९५ वटा उद्योग सञ्चालनमा छन् ।

जसमध्ये अधिकांश उद्योगको उत्पादन क्षमता ४० प्रतिशत मात्रै रहेको उद्योग सङ्घका अध्यक्ष स्वागतराज प्याकुरेलले जानकारी दिए । ‘औद्योगिक क्षेत्रका सबै उद्योगको उत्पादन क्षमता अहिले ४० प्रतिशतदेखि धेरैमा ५० प्रतिशतसम्म छ । कतिपय उद्योग बन्द हुने अवस्थामा पुगेका छन्’, उनले भने । ठूला उद्योग बहुराष्ट्रिय कम्पनी एसियन पेन्ट्स, बज्रर पेन्ट्सको उत्पादन पनि घटेको प्याकुरेलले बताए । हेटौँडा औद्योगिक क्षेत्रबाट ठूलो मात्रामा दाना उत्पादन गर्दै आइरहेका सिद्धार्थ र भ्याली पेलेट पनि ४० प्रतिशत क्षमतामा सञ्चालन भइरहेको उनले बताए । प्याकेजिङका उद्योगको अवस्थासमेत चिन्ताजनक रहेको उनको भनाइ छ ।

एक वर्षको अन्तरालमै बैङ्क ब्याजदर दोब्बरले वृद्धि हुँदा उद्योगहरू धराशायी बन्न पुगेको उनको भनाइ छ । ‘आर्थिक मन्दीले उद्योगको उत्पादन ४० प्रतिशतमा खुम्चिएको छ । बैङ्क ब्याजदर एक वर्षमै दोब्बरले बढ्दा उद्योग धराशायी भएका छन् । मैले नै अघिल्लो वर्ष ७ लाख रुपैयाँ ब्याज तिरेकोमा यस वर्ष १४ लाख रुपैयाँ तिर्नुपरेको छ । यसरी उद्योगहरू सञ्चालन गर्न सक्ने स्थिति नै छैन’, प्याकुरेलले भने । उद्योगधन्दाको स्थिति खस्कँदै गएको उद्योग सङ्घ मकवानपुरका सहकोषाध्यक्ष बुद्धराज अर्याल बताउँछन् । ‘उद्योगहरू चलिरहेका छन् । तर, ४० प्रतिशतभन्दा बढी क्षमतामा सञ्चालन हुन नसकेको हो’, अर्यालले भने ।

मन्दीकै कारण केही उद्योगहरू बन्द हुने अवस्थामा पुगेको उनको भनाइ छ । हेटौँडा औद्योगिक क्षेत्रमा १८ वटा उद्योग पूर्ण रूपमा बन्द भइसकेका छन् । बन्द हुनेमा नेपाल वनस्पति घ्यु उद्योग, हिमालयन पोलिमर्स, बाबा म्यानुफ्याक्चरिङ प्रालि, सन्नी डिस्टिलरी, नेमोपार्केट कम्पनी, ग्यासिका टेक्सटाइल, लक्ष्मी पेन्टस् उद्योग, क्वालिटी ह्याचरी एन्ड फिड इण्डष्ट्रिजलगायतका उद्योगहरू छन् ।

बर्सेनि करोडौँको सामान निकासी गर्ने बहुराष्ट्रिय कम्पनी कोलगेट पाल्मोलाइभ नेपाल प्रालि, एभरेष्ट मिनरल प्रडक्ट, मकवानपुर इन्जिनियरिङ जस्ता उद्योगहरू यसअघि नै बन्द भइसकेका छन् । त्यस्तै, एभरेष्ट पोलिमर्स, एभरेष्ट भिनाइल, रिज्वाइन क्वालिटी फुड, एसियन लेदर आर्ट्स एन्ड टानिङ जस्ता उद्योगहरू पनि केही वर्ष अघिदेखि अस्तित्वमा छैनन् ।

आर्थिक मन्दीकै कारण गत साउनयता मात्रै पाँचवटा उद्योग बन्द भएको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जानकारी दिएको छ । कार्यालयका क्षेत्र व्यवस्थापक भोजराज बिनाडीले पाँचवटा उद्योग बन्द भइसकेको बताए । उद्योगले धेरै कर्मचारी पनि कटौती गरिरहेका छन् । साउनबाट यता आर्थिक मन्दीका कारण उद्योगले कर्मचारी कटौती गरिरहेको बिनाडीले बताए ।

हेटौँडा औद्योगिक क्षेत्रको निर्यात व्यापार पनि अत्यधिक कम भइरहेको उद्योग सङ्घका अध्यक्ष प्याकुरेल बताउँछन् । थोरै निर्यात हुँदै आएकोमा निर्यात पनि प्रभावित भएको उनले बताए । हेटौँडा औद्योगिक क्षेत्रको निर्यात व्यापारमा झन्डै ८५ प्रतिशतले गिरावट आएको छ । दशकअघिको व्यापारको तुलनामा बितेको वर्षको व्यापारमा झन्डै ८५ प्रतिशतले गिरावट आएको देखिन्छ । १० वर्षअघि आर्थिक वर्ष २०६५/०६६ मा मकवानपुरबाट २८ वटा उद्योगले भारत तथा तेस्रो मुलुकमा आफ्नो उत्पादन निर्यात गर्दै आएको तथ्याङ्क छ । तर, आव ०७६/७७ सम्म आइपुग्दा पाँचवटाले मात्रै निर्यात गर्न सकेका थिए । हाल पाँचवटाले पनि निर्यात गर्न नसकेको प्याकुरेलले बताए । शिलापत्रबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*