हेटौंडाको फोहोरबाट फर्निचर सहितका सामान उत्पादन गर्दै पौरखी युवा, स्थानीय तहको बेवास्ता
हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रबाट उत्पादन भएको फोहोरबाट पनि फर्निचर लगायतका सामाग्री उत्पादन गर्न सकिन्छ भन्दा जो होहीलाई पत्याउन नसक्लान् । तर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरका नौ जना युवाहरुले फोहोर प्लाष्टिकबाट फर्निचर लगायतका सामाग्री निर्माण गरेर बिक्री गर्दै आएका छन् ।
नवलपुरमा इकोफ्याक्ट्री प्रालि नामक कम्पनि खोलेर नौ जना युवाहरुले फोहोरलाई व्यावस्थापन संगै घर बाहिर चाहिने हरेक सामान उत्पादन गर्दै आएका छन् । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा उत्पादन भएको फोहोरको प्लाष्टिक खरिद गरेर फर्निचरका सामानहरु खाट, टेबल, कुर्सी, पलङ लगायतका सामाग्री र ब्लक, टायल, इन्टरलक उत्पादन गरेर बिक्री गर्दै आएको कम्पनिका संचालक दिपक उप्रेती बताउनुहुन्छ ।
फोहोरलाई व्यावस्थापन गरेर सामाग्री उत्पादन गर्न थालेको तीन वर्ष भइसक्यो । घाम, पानीले समेत वषौ सम्म केही गर्न नसक्ने सामाग्रीहरु ३० वर्षको ग्यारेन्टी समेत दिएर बिक्री बितरणको काम गर्दै आएको उप्रेती बताउनुहुन्छ ।
फोहोरलाई मोहरमा परिणत गर्ने उदेस्यका साथ यो उद्योग खुलेको हो । सिमेन्ट र वालुवाले बनेका सामाग्री भन्दा कयौ वर्ष टिक्ने प्लाष्टिकका सामाग्री उत्पादन गर्दा पनि हेटौंडा उपमहानगरपालिकाले अहिले सम्म कुनै पनि सहयोग भने गरेको छैन । हेटौंडाकै फोहोर व्यावस्थापन गर्नका लागि ठुलो सहयोग गर्नुत कता हो कता त्यही फोहोर पनि स्थानीय सरकारले उपलब्ध नगराउँदा उद्योगमा कच्चा पदार्थको अभाब भएको युवाहरु वताउँछन् ।

कुल दुइ करोड १८ लाख रुपैयाँ लगानीमा उद्योग सञ्चालनमा ल्याइएको हो । हेटौंडा संगै युवाहरुले चितवन जिल्लाको इच्छाकामना गाउँपालिकामा पनि फोहोरलाई संकलन गरेर सामाग्री उत्पादन गर्ने भएका छन् । गाउँ र शहरका फोहोरलाई सुन्यमा झार्ने उदेस्यका साथ नेपालमानै पहिलो पटक फरक खालको उद्योग खोलीएको अर्का सञ्चालक रुपेशराज कुबर बताउनुहुन्छ ।
हेटौंडा उपमहानगरपालिका क्षेत्रबाट निस्किएको फोहोर हेटौंडाको ल्याडफिड साइटमा छरपष्ट रुपमा फालिएको छ । त्यहाँ कहिले आगलागी हुने र कहिले दुर्गन्ध फैलिएको भनेर निकै गुनासोहरु आइरहेको छ । तर, त्यही फालिएको फोहोर समेत स्थानीय सरकारले उपलब्ध नगराउँदा उद्योग धारासाही बन्दै गएको उद्योग सञ्चालक युवाहरुको गुनासो छ । ठुलो लगानीमा ८ जना युवाहरुले फोहोरबाट सामाग्री उत्पादन गर्ने भनेर खोलीएको उद्योगमा त्यही फोहोर समेत उपलब्ध नगराउँदा चितवनमा उद्योगनै सार्ने तयारीमा रहेको वताउँछन् ।

युवाहरु आफै काम पनि गर्ने र अरु सात जनालाई समेत उनीहरुले रोजगारी दिएका छन् । दुर्गन्धीत फोहोरबाट चिटिक्क परेका सामाग्री उत्पादन गरेर पार्क बनाउन पनि लगेका छन् । युवाहरुले उत्पादन गरेका सामाग्री सिमेन्टबाट बनेका सामाग्री भन्दा महगो पनि छैन । तर, पनि स्थानीय सरकारले फालिएको फोहोर समेत उपलब्ध गराउनमा पनि सहयोग नगरेको उनीहरुको भनाई छ ।
नेपालका प्रत्यक शहरमा फोहोरको कसरी व्यावस्थापन गर्ने भनेर जनप्रतिनिधी र कर्मचारीको टाउको दुखाइ बनेको छ । तर, नेपालमानै पहिलोपटक फोहोरलाई संकलन गरेर खोलिएको उद्योग फोहोर उपलब्ध नगराइएकै कारण धारासाही बन्दै गएको छ । यो उद्योगका लागि सरकारी क्षेत्रबाट तीनै तहका सरकार मध्यमा बागमती प्रदेशको प्रदेश युवा परिषद्ले भने सहयोग गरेको छ ।
प्रदेश युवा परिषद्ले बितेको आर्थिक वर्षमा यस उद्योगका लागि ३ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो । सरकारी स्तरबाट भने यो पहिलो अनुदान रकम प्राप्त भएको हो । युवाहरुले फोहोरलाई व्यावस्थापन गर्दै फर्निचर, व्लब, इन्टरलक लगाएतका सामाग्री उत्पादन गरेकाले थोरै भनेपनि सहयोग पुगोस भन्ने उदेस्यले तीन लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराइएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं बताउनुहुन्छ ।
प्रदेश युवा परिषद्ले युवाहरुलाई लक्षित गरेर धेरै जिल्लामा काम गर्दै आएको र युवाहरुलाई स्वदेशमानै रोजगारीको सृजना गराउनका लागि अनुदानका कार्यक्रम मार्फत सहयोग गरिएको उहाँ बताउनुहुन्छ । प्रदेशका धेरै जिल्लामा युवाहरुलाई लक्षित गरेर अनुदान वितरण गर्दै आएको चौलागाई बताउनुहुन्छ ।






