मकवानपुरको इन्द्रसरोवर तालमा बेपत्ता भएका युवकको शव फेला
हेटौंडा । मकवानपुरको इन्द्रसरोवर तालमा बेपत्ता भएका युवकको शव फेला परेको छ । हिजो र्याफ्टिङको क्रममा बेपत्ता भएका काठमाण्डौ दक्षिणकालीका राजकुमार सुवेदीको शव सशस्त्र प्रहरी बल नेपाल विपद् उद्धार गण काठमाण्डौबाट गएको गोताखोरको टोलीले आज निकालेको हो ।
सुवेदीको शव पानीमुनि ४५ फिट गहिराइमा रहेको अवस्थामा निकालिएको प्रहरीले जनाएको । स्थानीयहरूका अनुसार काठमाडौं छैमलेका ३३ वर्षीय राजकुमार सुवेदी तालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । सुवेदी स्थानीयले चलाएको डुंगा चढेकोमा ज्याकेट, जुत्ता र मोबाइल डुंगामै छाडेर तालमा हाम फालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
नेपाल प्रहरीको टोलीले मंगलबार दिनभर उनको खोजी गरे पनि नभेटेपछि बुधबार सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरेका थिए । सशस्त्रको गोताखोरसहितको सुरक्षाकर्मीको टोलीले उनको शव बुधबार तालमा भेटेको छ । शव गाडिएको अवस्थामा फेला परेको थियो । शव पोष्टमार्टमका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।






