मणिको आश्चर्यले भरिएको डेब्यू
काठमाडौं । ४ चैतमा शहीद स्मारक ए डिभिजन लिगमा नेपाल एपीएफ क्लब मनाङमर्स्याङ्दीसँग २–१ ले पराजित भयो । खेल गुमाएको पीडा बोकेर मणि लामा ड्रेसिङ रुममा मात्र के पुगेका थिए— गजबको ‘सरप्राइज्ड’ पाए । राष्ट्रिय टिमका नवनियुक्त प्रशिक्षक भिन्सेन्ट अल्वर्टो एनेस उनको नजिक आए र भने, ‘तिमी टिममा छौ, सामान लिएर होटल आउनू ।’
राष्ट्रिय टिमको छोटो प्रशिक्षणपछि मणिले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा लाओस विरुद्ध २७ वर्षको उमेरमा डेब्यू गरे । ८ चैतमा दशरथ रंगशालामा भएको खेलको ७३औं मिनेटमा नवीन लामालाई प्रतिस्थापन गरी मैदान छिरेका थिए, मणि । १४ चैतमा भुटानसँग भएको खेलमा बेञ्चमै बसेका उनले तीन दिनपछि लाओससँग भएको फाइनलमा पूर्ण समय मैदानमा बिताए । राष्ट्रिय टिमका अरू सदस्यहरूसँग उपाधि जितेको खुसी साटे ।
मणि अहिले पनि राष्ट्रिय टिममा पहिलो बोलावटको खुसी शब्दमा व्यक्त गर्न सक्दैनन् । भन्छन्, ‘रोहित दाइ, किरण दाइ, अञ्जनहरूलाई जहिले पनि फिल्डमा देखिरहेको । उनीहरूलाई भेट्दा, आफ्नो अनुभव सुनाउँदा छुट्टै हुने रहेछ ।’
उनका लागि राष्ट्रिय टिमको अनुभव नयाँ होइन । सन् २०१७ देखि २०२२ सम्म तीनपल्ट राष्ट्रिय फुटसल टिमको प्रतिनिधित्व गरी अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । २०१९ मा नेपालमै भएको १३औं दक्षिण एशियाली खेलकुदको तयारीका क्रममा उनी राष्ट्रिय टेबलटेनिस टिमको बन्द प्रशिक्षणमा थिए ।





