मकवानपुरमा स्वास्थ्य बिमाप्रति बढ्यो आकर्षण

जनपत्र
१७ श्रावण २०७६, शुक्रबार ०८:२२

हेटौंडा — निःशुल्क स्वास्थ्य बिमाको कार्ड पाएपछि ७२ वर्षीया सुन्तलीमाया चेपाङ खुसी भइन् । उनलाई श्वासप्रश्वास र दमको रोग छ । पैसाको अभावले गर्दा उपचार गर्न सकेकी थिइनन् । अब उपचारलाई पैसा नपर्ने भयो भनेपछि उनी दंग परिन् ।
उनी मात्र होइन, ७१ वर्षीया सोमबहादुर चेपाङको अनुहार पनि उज्यालो भयो । विगत २ वर्षदेखि घुँडा र छाती दुख्ने पीडा खेपिरहेका उनको पनि गाउँपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ ।

भीमफेदी गाउँपालिकाले सिंगो चेपाङ समुदायको चालु आवदेखि नै निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ । गाउँपालिकाको १,२,३,४,६ र ७ वडामा चेपाङको बसोबास छ । गाउँपालिकाका अनुसार १ सय ११ घरधुरीमा ४ सय ९५ चेपाङको बसोबास छ । निःशुल्क स्वास्थ्य बिमामा ५ जनासम्म भएका परिवारको ३ हजार ५ सय रुपैयाँ र थप प्रतिव्यक्ति सात सय बिमा शुल्क लाग्ने भीमफेदीका स्वास्थ्य संयोजक ध्रुवप्रसाद लामिछानेले बताए ।

गाउँपालिकाले चेपाङ समुदायको स्वाथ्य बिमाका लागि करिब ४ लाख रुपैयाँ लगानी गरेको अध्यक्ष हिदम लामाले बताए । गरिबीका कारणले निःशुल्क स्वास्थ्य बिमाले चेपाङ समुदायलाई छुन सकेको थिएन । स्वास्थ्य बिमाको सुविधा उनीहरूले भदौबाट पाउने छन् । ‘गरिबीका कारणले चेपाङ जातिको एक परिवारले पनि निःशुल्क स्वास्थ्य बिमा गर्न नसकेकाले गाउँपालिकाले गरिदिएको हो,’ अध्यक्ष लामाले भने, ‘गाउँपालिकाले यो समुदायका निम्ति बर्सेनि स्वास्थ्य बिमा गर्ने नीति नै बनाउने छौँ ।’

बिमा गरेपछि १ लाख रुपैयाँसम्मको निःशुल्क रूपमा उपचार पाइने व्यवस्था छ । सामान्य औषधि उपचार गर्न नसकेर अँकालमा ज्यान गुमाउने गरेका चेपाङ समुदायलाई यस कार्यले राहत पुर्‍याउने गाउँपालिकाको ठम्याइ छ । धनसहित मनकारी मन भएका सामाजिक व्यक्तिले पनि आर्थिक रूपमा विपन्नको निःशुल्क स्वास्थ्य बिमा गरिदिएका छन् । हेटौंडा उपमहानगरपालिका ५ का वडाध्यक्ष राजेश बानियाँले राई समुदायका सयभन्दा बढी घरधुरीका बासिन्दाको स्वास्थ्य बिमा गरिदिएका थिए ।

मकवानपुरका सबै बासिन्दाको स्वास्थ्य बिमाप्रति आकर्षण बढ्दो छ । जिल्लामा स्वास्थ्य बिमा गर्नेको संख्या बढेको छ । आर्थिक अवस्था कमजोर भएका नागरिकलाई स्वास्थ्य संघसंस्थाको पहुँचमा पुर्‍याउने उद्देश्यले सरकारले ल्याएको बिमाप्रति आर्थिक रूपमा कमजोर र विपन्न समुदाय एवं व्यक्तिको आकर्षण बढनुको साथै स्थानीय तहको पनि ध्यान खिच्न सफल भएको छ ।

स्थानीय तहले आफ्नो क्षेत्रमा भएका विपन्न समुदाय र व्यक्तिको बिमा गर्न थालेका छन् । ‘गाउँपालिकाले व्यक्तिव्यक्तिलाई उपचार खर्च दिन सम्भव हुँदैन,’ अध्यक्ष लामाले भने, ‘आर्थिक रूपमा अत्यन्त विपन्न समुदायलाई बिमा गरिदिएपछि सामान्य रोगको उपचारको समस्या हल हुने र उनीहरूलाई स्वास्थ्य संस्थामा आउने बानी पर्ने छ ।’

बिमाप्रति मकवानपुरका बासिन्दाको आकर्षण बढेको स्वास्थ्य बिमा बोर्ड मकवानपुरले जनाएको छ । मकवानपुरमा हालसम्म ८४ हजार ५ सय ३ जनाले बिमा गराएको बिमा बोर्डका दर्ता अधिकारी नरबहादुर खड्काले बताए । बिमा गराउनेमध्ये ४० हजार ८ सय ३४ पुरुष छन् भने ४३ हजार ६ सय ७० महिला रहेको तथ्यांकले देखाएको छ । सरकारले बिमा गर्नेलाई सेवा बढाएसँगै यसप्रति आकर्षण बढेको हो ।

सरकारले ५० हजारबाट १ लाख रुपैयाँ बराबरको सुविधा पाउने व्यवस्था गरेसँगै बिमा गर्नेको संख्या बढेको खड्काले बताए । सुरुमा पाँच जनासम्मको परिवारलाई २ हजार ५ सयमा हुने बिमाका लागि अब भने ३ हजार ५ सय तिर्नुपर्ने छ । अहिले अपांगहरूको बिमा गर्दा परिवारको नै शतप्रतिशत छुटमा बिमा हुन्छ भने, सत्तरी वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, एचआईभी संक्रमितका लागि १ लाख बराबरको बिमा शतप्रतिशत छुटमा हुन्छ ।

यसैगरी महिला स्वयंसेविकाका लागि ५० प्रतिशत छुट गरिएको छ । स्वास्थ्य बिमा गराएकाले तोकिएको स्वास्थ्य संस्थामा उपचार सम्भव नभएमा रिफरको सुविधा पनि उपलब्ध गराइएको छ । आजको कान्तिपुर दैनिकमा प्रताप बिष्टले लेखेको समाचार हामिले साभार गरेका हौं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*