सहारा हाफ म्याराथनको उपाधि सञ्जय श्रेष्ठ र पुष्पा भण्डारीलाई

जनपत्र
२१ चैत्र २०७९, मंगलवार १२:३१

काठमाण्डाे – सहारा हाफ म्याराथनको उपाधि सञ्जय श्रेष्ठ र पुष्पा भण्डारीले जितेका छन् ।

चारपाने झापामा आज मंगलबार भएको हाफ म्याराथनमा नेपाल आर्मीका श्रेष्ठले निर्धारित दूरी १ घन्टा ६ मिनेट २२ सेकेन्डमा पूरा गर्दै पुरुषतर्फ च्याम्पियन बनेका हुन् । त्यस्तै, सशस्त्र प्रहरी बल नेपालकी भण्डारीले १ घण्टा २१ मिनेट १७ सेकेन्डमा निर्धारित दूरी पार गर्दै महिलातर्फ च्याम्पियन बनिन् ।

उपाधिसँगै श्रेष्ठ र भण्डारीले समान ५१ हजार नगद, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, पुरुषतर्फ केन्याली धावक सिमिओन किप्लागातोेले १ घन्टा ७ मिनेट १७ सेकेन्डको समय निकाल्दै दोस्रो स्थान हाँसिल गरे । आर्मीका मोहनदेव जोशीले १ घन्टा ७ मिनेट २२ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हाँसिल गरे । दोस्रो भएका सिमिओनले ३१ हजार, मेडल र प्रमाणपत्र पाए भने तेस्रो भएका जोशीले २१ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

महिलातर्फ नेपाल प्रहरीकी रेखा बिष्टले निर्धारित दूरी १ घण्टा २४ मिनेट ३४ सेकेन्डमा पूरा गर्दै दोस्रो र नेपाल प्रहरीकै सुमित्रा चौधरीले निर्धारित दूरी १ घण्टा २९ मिनेट ३० सिकेन्डमा पूरा गर्दै तेस्रो स्थान हाँसिल गरिन् । दोस्रो भएकी बिष्टले ३१ हजार, मेडल र प्रमाणपत्र पाइन् भने तेस्रो भएकी चौधरीले २१ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।

प्रतियोगितामा महिला तथा पुरुष गरी ५३४ जना धावकहरुले सहभागिता जनाएका थिए ।

यसैबीच, सहारा हाफ म्याराथनमा नेपालका कीर्तिमानी धावक ओलम्पियन बैकुण्ठ मानन्धर, ओलम्पियनहरु डम्बर कँवर र मेनुका राउत तथा भेट्रान्स धावक बुद्धवीर लामालाई नगदसहित सम्मान गरिएको साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*