चन्द समूहले १९ जिल्लाका एनसेल टावरमा आक्रमण गरी क्षति

काठमाडौँ — प्रतिबन्धित नेत्रविक्रम चन्द समूहले १९ जिल्लाका एनसेल र एक जिल्लाको एनटिसी टावरमा आक्रमण गरी क्षति पुर्याएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार कपिलवस्तु, कैलाली, झापा, डडेल्धुरा, डोटी, धादिङ, नवलपरासी पूर्व, पर्वत, पाँचथर, बाँके, बाग्लुङ मकवानपुर, मोरङ, म्याग्दी, रुपन्देही, ललितपुर, सिन्धुपाल्चोक, अछाम र सल्यान का एनसेल टावर र अर्घाखाँचीको एनटिसी टावरमा आक्रमण गरी क्षति पुर्याएको हो ।
प्रहरीका अनुसार अधिकांश स्थानमा आगजनीको प्रयास गरिएको छ भने ललितपुरको कोन्ज्योसोम गाउँपालिका २ मा रहेको एनसेलको टावरमा भने प्रहरीले प्रेसर कुकर बम बरामद गरेको थियो । उक्त बम लगनखेलस्थित नेपाली सेनाको राजदल गणबाट गएको डिस्पोजल टोलीले झण्डै साढे ७ बजे डिस्पोज गरेको थियो ।
त्यस्तै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १ भोटेचौरमा रहेको एनसेल टावरमा भने चन्द समुहका कार्यकर्ताले सिलिन्डर बम पड्काउने प्रयास गरेको प्रहरीले जनाएको छ । प्रहरीले त्यहाँबाट नपड्किएको एक थान ग्यास सिलिन्डर बरामद गरेको थियो ।
पटक पटक टावर आक्रम गरिए पनि कारण अझै पत्ता लाग्न सकेको छैन ।
- कपिलवस्तु : बुद्धभूमि नगरपालिका ८ मननगरा
- कैलाली : धनगढी उपमहानगरपालिका ६ र गोदावरी नगरपालिका ९
- झापा : अर्जुनधारा नगरपालिका १०
- डडेलधुरा : अलिताल गाउँपालिका २ काफली
- डोटी : जोरायल गाउँपालिका कटौजथला
- धादिङ : धुनीबेंसी नगरपालिका ४ देवीस्थान र सिद्धलेक गाउँपालिका ६
- नवलपरासी पूर्व : कावासोती नगरपालिका ८ मगरकोट
- पर्वत : राति मोदी गाउँपालिका ६ तिलाहर थानाकोट
- पाँचथर : याङवरक गाउँपालिका ४ निसानडाँडा जंगल
- बाँके : नेपालगन्ज उपमहानगरपालिका ४ निहामुदपुर
- बाग्लुङ : निसिखोला गाउँपालिका ७ राजकुट
- मकवानपुर : थाहा नगरपालिका ३ कटुवालडाँडा र ईन्द्रसरोवर गाउँपालिका ३ किरीभन्ज्याङ
- मोरङ : पथरी शनिश्चरे नगरपालिका ६
- म्याग्दी : बेनी नरगपालिका २ ज्यामरुक
- रुपन्देही : गैडहवा गाउँपालिका २ सानेधुपही
- ललितपुर : कोन्ज्योसोम गाउँपालिका २ शंखु
- सिन्धुपाल्चोक : मेलम्ची नगरपालिका भोटेचौर
- अछाम : पन्चदेवल विनायक गाउँपालिका ३ थानीकोट
- सल्यान : बागचौर नगरपालिका ५ जारमारेडाँडा
- अर्घाखाँची : पाणेनी गाउँपालिका ५ अमजा
- इकान्तिपुरबाट साभार ।