कांग्रेसले बारा २ को उपचुनावमा उपेन्द्र यादवलाई समर्थन गर्ने

जनपत्र
१९ चैत्र २०७९, आईतवार १३:४९

काठमाण्डाै – नेपाली कांग्रेसले बारा निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनका साझा उम्मेदवारको रूपमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ ।

आइतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बारा निर्वाचन क्षेत्र नम्बर २ को उपचुनावमा सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा जसपा अध्यक्ष यादवलाई समर्थन गर्ने निर्णय गरेको पार्टीका सहमहामन्त्री बद्रिप्रसाद पाण्डेले जानकारी दिनुभयाे । उहाँले २०७९ को चुनावभन्दा पहिला पार्टीको अनुशासनको कारबाहीमा परेका उपचुनाव हुने तीन क्षेत्रका नेताहरूलाई पुरानै क्रियाशील सदस्यताको निरन्तरता हुने गरी कारबाही फुकुवा गर्ने निर्णय भएको बताउनुभयो । उहाँले २०७९ को चुनाव बेलाको हकमा भने उपचुनावमा नेताहरूले खेलेको भूमिकालाई हेरेर पछि निर्णय लिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘वैशाख १० गते हुने उपचुनावका लागि तनहुँ क्षेत्र नम्बर १ मा गोविन्द भट्टराई र चितवन २ मा जिल्लाका पूर्वसभापति जितनारायण श्रेष्ठ प्रस्तुत गरिसकेका छौँ । बारामा भने हामीले साझा उम्मेदवार प्रस्तुत गर्ने गरी उपेन्द्र यादवलाई स्वीकार्ने निर्णय गरेका छौँ ।’

सहमहामन्त्री पाण्डेले बैठकले सरकारमा सहभागी मन्त्रीहरूलाई बधाई दिने प्रस्ताव पारित गर्नुका साथै राष्ट्रपतिको स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको बताउनुभयो । बैठकले अघिल्लो कार्यसम्पादन समितिमा पार्टीको कार्यालय सञ्चालनका लागि प्रस्तुत भएको निर्देशिका र विनियमावली, प्राप्त सुझाव समेट्ने गरी पारित गर्ने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*