टाटासुमो दुर्घटना : मृत्यु हुनेको संख्या तीन पुग्यो, १० मध्ये तीन जना घाइतेको अवस्था गम्भीर

जनपत्र
१८ चैत्र २०७९, शनिबार ०९:०८

नुवाकोटको दुप्चेश्वर गाउँपालिका- बेतिनीमा शुक्रवार टाटासुमो दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ। दुर्घटनामा अन्य १० जना घाइते भएकाले काठमाडौंमा उपचार भइरहेको छ।

बेतिनीबाट यात्रु लिएर शुक्रवार काठमाडौं जान लागेको सुमो अपराह्न सोही स्थानको सानोगोल्फुको ओरालोमा अनियन्त्रित भएर दुर्घटना हुँदा घटनास्थलमा दुईजना र उपचारको क्रममा गए राति थप एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिए।

उनका अनुसार काठमाडौंको ट्रमा सेन्टरमा उपचारको क्रममा ४५ वर्षीया सानुकान्छी तामाङको निधन भएको हो। घटनास्थलमा दुप्चेश्वर गाँउपालिका(४ का २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङको मृत्यु भएको थियो। घाइते १० मध्ये तीन जनाको अवस्था गम्भीर छ। रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*