मकवानपुरका पेशाकर्मीहरुको भेलाः गठबन्धन सरकारको कारण अर्थतन्त्र संकटमा– नेता ज्ञवाली
हेटौंडा । नेकपा एमालेका केन्द्रीय पोलिटव्यूरो सदस्य देवि ज्ञवालीले गठबन्धन सरकारको कारण मुलुकको अर्थतन्त्र संकटमा परेको बताउनु भएको छ । एमालेको मिसन ग्रासरुट अन्तरगत एमाले सम्बद्व पेशाकर्मीहरूको मकवानपुर जिल्ला भेलालाई सम्बोधन गर्दै उहाँले सरकार गठन नै षडयन्त्रको जगमा भएकोले वर्तमान सरकारप्रति देशभित्र र बाहिर विश्वास नभएको नेता ज्ञवालीले दावी गर्नुभयो । पार्टीले देशव्यापी रूपमा संगठन सुदृढीकरणको लागि मिसन ग्रासरूट सञ्चालन गरेको र अभियान पश्चात् पार्टी र जनसंगठनका सबै कमिटी चुस्त हुने, सदस्य नवीकरण र विस्तार हुने उहाँको भनाई थियो ।
पेशागत ईलाका कमिटी, पेशागत महासंघ र नेपाल बुद्विजीवि परिषद्, मकवानपुरको आयोजनामा भएको भेलामा नेकपा एमाले जिल्ला कमिटीअध्यक्ष तथा बागमती प्रदेशसभाका सदस्य एकालाल श्रेष्ठ, एमाले मकवानपुर सचिव नवीन सिग्देल, नेपाल बुद्विजीवि परिषद्का जिल्ला अध्यक्ष मोहन शर्मा लगायतकाले मन्तव्य राख्नु भएको थियो । पेशागत ईलाका कमिटीका अध्यक्ष उद्वव भट्टराईको अध्यक्षतामा भएको भेलामा पार्टी प्रदेश कमिटी सदस्यहरू सम्राट तुम्बाहाम्फे, भोजराज ढकाल, नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय सचिवालय सदस्य तथा बाग्मती प्रदेश ईञ्चार्ज विष्णु अर्याल, संगठनका प्रदेश अध्यक्ष बरूण शाह लगायतको उपस्थिति रहेको थियो ।