सबैलाई सम्मान र विश्वास गर्ने परिस्थिति बनाउँछाैँ : उपप्रधानमन्त्री खड्का

जनपत्र
१७ चैत्र २०७९, शुक्रबार १७:५३

काठमाण्डाै – नवनियुक्त उपप्रधान एवम् रक्षा मन्त्री पूर्णबहादुर खड्काले सबैलाई सम्मान र विश्वास गर्ने परिस्थिति निर्माण गरेर सरकार सफल बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।

शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि मन्त्रालयको कार्यभार सम्हाल्दै मन्त्री खड्काले यस्तो बताउनुभएको हो । उहाँले रक्षा मन्त्रालय एकदमै महत्त्वपूर्ण मन्त्रालय भएकाले सबै सम्बन्धित पक्षहरूसँगको छलफलबाट आफू अघि बढ्ने बताउनुभयो । उहाँले सामूहिकताको भाव र सबैले सबैलाई सम्मान गर्ने, विश्वास गर्न परिस्थिति निर्माण गरेर सरकार सञ्चालन गर्ने जनाउनुभयाे ।

उहाँले भन्नुभयो, ‘यो मन्त्रालय महत्त्वपूर्ण छ, यसलाई बुझेर नै प्रधानमन्त्रीज्यूको निर्देशनमा रक्षा मन्त्रालयका अधिकारीहरू, नेपाली सेनाको प्रधानसेनापतिलगायत सबै सम्बन्धित व्यक्तिहरूसँग छलफल गरेर काम गर्नेछाैँ । हामी सामूहिकताको भाव र सबैले सबैलाई सम्मान गर्ने, विश्वास गर्न परिस्थिति निर्माण गरेर जानेछौँ ।’

मन्त्री खड्काले न्यूनतम साझा कार्यक्रम अबको केही दिनमा नै ल्याउने बताउँदै न्यूनतम साझा कार्यक्रमबाट नै सरकारका प्राथमिकता, सरकारका महत्त्वपूर्ण नीतिगत सुधारका कामहरू अघि सार्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*