बागमती प्रदेशका १ लाख ६ हजार ९५९ परीक्षार्थी, परीक्षामा कोठाभित्रको तस्बिर र दृश्य खिच्न रोक

जनपत्र
१७ चैत्र २०७९, शुक्रबार ०७:३६

हेटौंडा । आज देखि सुरु भएको एसईईमा बागमती प्रदेशका १ लाख ६ हजार ९५९ परीक्षार्थी सहभागि भएका छन् । यस प्रदेशमा ४३४ परीक्षा केन्द्र तोकिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा बिहान आठ बजेदेखि सुरु हुनेछ ।

चैत २९ गतेसम्म चल्ने यस वर्षको एसईई परीक्षामा करिब ५ लाख परीक्षार्थी सहभागी हुन लागेका छन् । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार करिब २ लाख ६० हजार छात्र र करिब २ लाख ५५ हजार छात्राले एसईई परीक्षा दिँदैछन् ।

बागमती प्रदेशमा एईई तयारीको कामहरु पूरा भएको भन्दै परीक्षार्थीमा समेत  मनोवैज्ञानिक त्रास उत्पन्न हुने कार्य नगर्न आग्रह गरिएको छ । बागमती प्रदेशको प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले एसईई परीक्षामा परीक्षार्थीलाई उत्तरपुस्तिका वितरण गर्नु पूर्व एवं  परीक्षा सञ्चालन भइरहेको अवधिमा कार्यालय प्रयोजनको लागि बाहेक अन्य कुनै पनि प्रकारले तस्बिर वा भिडियो नलिन आग्रह गरेको छ । साथै समितिले तोकिएको निरीक्षकबाहेक अनुगमनका नाममा ठूलो सङ्ख्यामा बाह्य व्यक्तिहरु एकैपटक वा पटक-पटक परीक्षा हलमा प्रवेश नगर्नसमेत भनेको छ ।

बागमती प्रदेशको शिक्षा विकास निर्देशनालय, हेटौँडाका सूचना अधिकारी शारदा मैनालीले एसईईलाई व्यवस्थित, मर्यादित र भयरहित बनाई परीक्षार्थीले निर्धक्कसँग परीक्षा दिने वातावरण निर्माण गर्न यस्तो आग्रह गरिएको जानकारी दिनुभयो ।

परीक्षार्थीलाई उत्तरपुस्तिका वितरण गर्नु पूर्व एवं  परीक्षा सञ्चालन भइरहेको अवधिमा तस्बिर वा भिडियो लिँदा र निरीक्षक बाहेकका व्यक्ति प्रवेश गर्दा परीक्षाको वातावरण अस्वस्थ हुने तथा परीक्षार्थीमा समेत  मनोवैज्ञानिक त्रास उत्पन्न हुनसक्ने भन्दै उहाँले परीक्षार्थीले निर्धक्कसँग परीक्षा दिने वातावरण बनाएर दिनका लागि शिक्षक, विद्यार्थी, अभिभावक, नागरिक समाज, पत्रकार, सुरक्षाकर्मीलगायतलाई अनुरोध गर्नुभएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालन गर्ने एसईईका लागि प्रदेशभित्रका सबै जिल्लाका परीक्षा केन्द्रमा उत्तरपुस्तिका पुर्‍याइसकिएको र परीक्षा केन्द्र नजिक रहेको प्रहरी चौकीमा प्रश्नपत्र पुगिसकेको बताउनुभयो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*