सरकार र मिटरब्याज पीडितबीच अहिले ६ बजे फेरि छलफल हुँदै
काठमाण्डौ – सरकार र मिटरब्याज पीडित सङ्घर्ष समितिबीच भएको छलफल पुनः ६ बजे बस्ने गरी टुङ्गिएकाे छ । मिटरब्याज पीडित सङ्घर्ष समितिका संयोजक मनोजकुमार पासवानका अनुसार सरकार मिटरब्याज पीडितप्रति निकै सकारात्मक रहेको र पीडितभन्दा पनि सरकार छिटो भन्दा छिटो वार्तालाई निष्कर्षमा पुर्याउन आतुर देखिएको छ ।
सङ्घर्ष समितिले सरकारले बनाएको समिति समक्ष आफ्नो दश बुँदे माग राखेको र अघिल्लो कार्यदलका संयोजक भिष्मकुमार भुसालले तयार गरेको प्रतिवेदन अध्ययन गरेर पुनः छलफलमा बस्ने गरी वार्ता टुङ्गिएको संयोजक पासवानले बताउनुभयो । वार्तामा आजै ६ बजे बस्ने सहमति भए पनि आजै अध्ययन गरेर निष्कर्षमा पुग्न सकिने/नसकिनेबारे भने बैठकपछि मात्रै थाहा हुने पनि पासवानले बताउनुभयो ।
सङ्घर्ष समितिले दिएको दश बुँदेमा एउटा शक्तिशाली आयोग गठन गर्ने र आयोगमार्फत तमसुकको अध्ययन गर्ने सहमति भएको छ । साथै सबै तमसुक खारेज हुनुपर्ने, साहुकारको अवैध सम्पत्ति जसको हो उसैलाई फिर्ता दिनुपर्ने, पीडित साहुकारमाथि ठगी मुद्दा सहजरूपले दायर गर्ने वातावरण मिलाउने, अदालतमा चलाइएको मुद्दा तत्काल स्थगन गर्ने सहमति भएको छ ।
यस्तै तमसुकका कारण पीडितले दुःख पाएकाले तमसुक खारेज हुनुपर्ने आफ्नो तर्फबाट ‘बटमलाइन’ भएको कुरा वार्तामा सरकारसमक्ष राखेको पासवानले बताउनुभयो । तमसुक खारेज नभएसम्म आफूहरूको समस्या ज्यूँकात्यूँ रहने हुँदा आफ्नो प्रमुख माग नै तमसुक खारेज रहेको उहाँकाे भनाइ छ ।
दश बुँदे मागको दशौँ बुँदामा कानुन बनेर राजपत्रमा प्रकाशित नभएसम्म आन्दोलन जारी रहने भएका कारण आन्दोलन अहिले नै नटुङ्गिने र अब बाँकी काम सरकारको भएको पनि पासवानले बताउनुभयो ।