‘आन्दोलन नसकी गाउँ जानु हुन्न, साहुले झन् बस्नै दिँदैन’

जनपत्र
१६ चैत्र २०७९, बिहीबार १३:२१

किताबकापी बोकेर स्कुल जानुपर्ने बेला सिरहा मिर्चैयाकी १३ वर्षीया गरिमा राय हातमा प्लेकार्ड बोकेर पैदलै काठमाण्डौ आउनुभएको छ । आफूसँगै आएका अरु पीडितसँगै अँध्यारो मुख लगाएर काठमाण्डौमा दिन बिताउँदै हुनुहुन्छ । भेट्न आउने राजनीतिक नेता, सामाजिक अभियन्ता तथा नागरिक समाजका अगुवासँग प्रश्न गर्नुहुन्छ : मिटरब्याज पीडितका नाममा हामीजस्ता निर्दोष, अबाेध र स्कुले बालबालिकाले कहिलेसम्म अन्याय भोग्ने ? आफूलाई थाहा नभएको, गर्दै नगरेको कर्मको फल भोग्दै कहिलेसम्म भविष्य अन्धकार बनाउने ? यी र यस्ता प्रश्न मिटरब्याज पीडितलाई भेट्न आउने हरेकलाई राख्नुहुन्छ गरिमा ।

कालो म्याट ओच्छ्याएर अनि ब्ल्याङ्केट ओढेर मिटरब्याज पीडितहरु अनामनगरमा रहेको तमु बौद्ध सेवा समितिमा आराम गरिरहेका छन् । तर, गरिमालाई भने आराम गर्ने फुर्सद पनि छैन । कोही पीडितलाई भेट्न आयो कि उहाँ जुरुक्क उठ्नुहुन्छ र आफ्नो प्रश्न र जिज्ञासा तेर्स्याउनुहुन्छ।

बुधवार उपप्रधान तथा भौतिक योजना मन्त्री नारायणकाजी श्रेष्ठ पीडितलाई भेट्न आउँदा समस्याको समाधानका लागि वार्ता टोली गठन भएको, कानुन बन्दै गरेको यो समस्यालाई फास्ट ट्रयाकबाट लगेर हल गरिने आश्वासन दिइरहँदा गरिमाको प्रश्न थियो, न्याय दिएको भए हामी किन यहाँ आउनु पर्थ्याे ? मन्त्री श्रेष्ठको स्वाभाविक उत्तर थियो ‘एउटाले मात्रै गर्न सक्दैनन् त्यसकारण सबै मिलेर गर्दैछौँ ।’ असुरक्षा अनि धाक धम्कीका बारेको प्रश्नमा सबै व्यवस्था मिलाउने उत्तर थियो उपप्रधानमन्त्री श्रेष्ठको ।

उपप्रधानमन्त्री श्रेष्ठ लगत्तै महोत्तरी जिल्लाका पूर्व सांसद तथा मन्त्री गिरिराजमणि पोखरेल पुग्नुभयो पीडितलाई भेट्नका लागि । उहाँले पनि पीडितलाई अहिलेका लागि आवश्यक पर्ने बस्ने खाने सुविधासहित अन्य कुरामा सहयोग गर्ने वचन दिनुभयो तर, उहाँसँग पनि गरिमाको उही कुरा थियो ‘समस्या छिटोभन्दा छिटो समाधान गर्नुपर्यो र हामीलाई न्याय दिनुपर्यो ।’

पीडितलाई भेट्न गएका सबैसँग गरिमाको एउटै प्रश्न छ, ‘समस्याको समाधान कहिले र हामीले अकारण किन दुःख पाइरहेका छौँ ?’ प्रायः आउने उत्तर भनेका उस्तै : हामी तपाईँहरुको साथमा छौँ । आवश्यक सहयोग गर्छौँ । सम्बन्धित ठाउँमा कुरा राख्छौँ ।

तर, गरिमाले भने आफ्नो उत्तर पाउनु भएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*