राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

जनपत्र
१६ चैत्र २०७९, बिहीबार ११:४१

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले काठमाण्डौको असनमा सेतो मच्छिन्द्रनाथकाे रथको दर्शन गर्नुभएको छ । गएराति ९ बजे असन पुगेर उहाँले सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभयो ।

तीनधारा पाठशालाअघि ३२ हात लामो रथ बनाएर चैते दशैँका दिन हिजोदेखि तान्ने गरिएको छ । हरेक वर्ष यो जात्रा गरेपछि वर्षा र सह हुने विश्वास छ । रथ दोस्रो दिन आज असनबाट वसन्तपुरमा रहेकाे कालभैरवअघि लगिन्छ ।

आज बेलुका ५ बजेदेखि असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोकासम्म रथ यात्रा हुनेछ ।  तेस्रो दिन वसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ । भोलि दिउँसो ४ बजेदेखि हनुमानढोका, चिङ्कमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनसम्म रथयात्रा हुने सेतो मच्छिन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ ।

त्यस्तै, पर्सि बेलुका लगन आमा रुख परिक्रमा, चैत १९ गते बेलुका लगन, ज्याबहाल, द्यः लं, युतुननी, कोहिती भीमसेन थान, मरु, यट्खा, नरदेवि, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म रथयात्रा हुने कार्यक्रम रहेको समितिले जनाएको छ ।

लगनमा सेतो मच्छिन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाउने गरिन्छ । काठमाण्डौमा मनाइने सेतो मच्छिन्द्रनाथको रथयात्रा सकेपछि ललितपुरमा रातो मच्छिन्द्रनाथको रथयात्रा हुन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*