यात्रुमाथि सीता एयरको ज्यादती : दाङबाट काठमाडौंका लागि उडेका यात्रु नेपालगन्जमा झारिए, जहाज हुम्ला उड्यो

जनपत्र
१६ चैत्र २०७९, बिहीबार ०७:४४

१४ यात्रु बोकेर सीता एयरको १९ सिटे नाइनएन एजेएच जहाज बुधबार बिहान ११ बजे काठमाडौंका लागि उडेको थियो । तर, सवा ११ मै जहाज नेपालगन्जमा अवतरण भयो । काठमाडौंका लागि टिकट काटेका यात्रुलाई नेपालगन्जमै झारेर जहाज हुम्लाका लागि उड्यो ।

‘काठमाडौं भनेर उडाइएको थियो, एकाएक नेपालगन्ज पुर्‍यायो । प्राविधिक समस्या भएर हो कि भन्ने लाग्यो, तर होइन रहेछ,’ जहाजका यात्रु दाङ तुलसीपुरका झरेन्द्र खरेलले भने, ‘यो त ज्यादती भएन र ? एक ठाउँ पुर्‍याउनुपर्ने यात्रुलाई अर्कै ठाउँ ल्याएर झारिदियो ।’

अर्की यात्रु घोराही उपमहानगरपालिका रत्नपुरकी लक्ष्मी पहराईका अनुसार सीता एयरको सो जहाजले नेपालगन्ज–हुम्ला उडान भर्ने र त्यहाँबाट फर्केपछि मात्र आफूहरूलाई नेपालगन्जबाट काठमाडौं पुर्‍याउने योजना बनाएको थियो । तर, यात्रुहरूले आपत्ति जनाएपछि बुद्ध र श्री एयरका जहाजबाट उनीहरूलाई काठमाडौं उडाउने व्यवस्था गरियो ।

‘हामीले मानेनौँ, जसरी पनि तत्काल काठमाडौं पठाउन भनेपछि छुट्टाछुट्टै प्लेनबाट काठमाडौं पठाइएको हो,’ पहराईले भनिन्, ‘मनपरी गरेका छन्, पैसा तिरेर यात्रा गर्दा पनि यात्रुलाई सास्ती खेप्नुपर्ने ।’ उनी शुक्रबार जापान जानका लागि बुधबार दाङबाट काठमाडौंका लागि उडेकी थिइन् ।

यात्रुहरूले टरीगाउँबाट काठमाडौं उडानका लागि प्रतिव्यक्ति आठ हजार भाडा तिरेका थिए । तर, नेपालगन्ज झारेर सीता एयरले बुद्ध र श्रीको प्रतियात्रु पाँच हजारमा टिकट उपलब्ध गराएको थियो । यसबीचमा सीताले दाङ–नेपालगन्जको भाडा तीन हजार लिएको छ । सो रकम फिर्ता पाउनुपर्ने यात्रुहरूको माग छ । यात्रुहरू दिउँसो साढे १ बजे मात्रै काठमाडौं पुगेका थिए ।

नेपाल नागरिक उड्डयन नियमावली, २०५८ अनुसार जुन रुटका लागि उडान अनुमति लिइएको हो, सोही रूटमा मात्र उडान भर्नुपर्छ । नेपाल नागरिक उड्डन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले यात्रुलाई जानकारी नदिइनु सेवाप्रदायक विमान कम्पनीको कमजोरी रहेको बताए । उनका अनुसार सीताले ‘आपत्कालीन’ हुम्ला उडान भर्नुपर्ने भन्दै दाङ–नेपालगन्ज उडानको अनुमति मागेको थियो । सोहीअनुसार उडान भरेको हो । तर, यसबारे यात्रुलाई कुनै जानकारी गराइएको थिएन । किनकि निर्धारित गन्तव्यमा उडान नभरेमा यात्रु जान बाध्य हुँदैनन् । उनीहरूले यात्रा रद्द गर्न पाउँछन् ।

नागरिक उड्डयन प्राधिकरण दाङका प्रमुख गणेश अर्यालले भने विमान कहाँ उडान गर्ने भन्ने सम्बन्धित विमान कम्पनीको अधिकारको विषय रहेको बताए । ‘हामीले यहाँबाट उडानका लागि अनुमति दिने हो, कम्पनीको सेड्युलमाथि (काठमाडौं) बाटै निर्धारण हुन्छ,’ उनले भने, ‘सेड्युल निर्धारणका आधारमा चार्टर्ड फ्लाइट गर्न पाउनुहुन्छ ।’ यस विषयमा सीता एयरका दाङ प्रतिनिधिसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

१९ सिटे जहाज प्रायः पर्यटकीय गन्तव्यका लागि बढी प्रयोग हुन्छन्, पयर्टक बोक्दा धेरै फाइदा हुने भएपछि उनीहरूले नियमित उडान रोकेर पनि पर्यटकलाई बोक्ने गर्छन् । सीता एयरले टरीगाउँमा गत माघदेखि हरेक साता सोमबार, बुधबार र शनिबार उडान भर्दै आएको छ । नयाँत्रिकाडेलीबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*