मैले चाहिँ कुनै पनि नेता भेट्न नहुने ? : भीम रावल

जनपत्र
१४ चैत्र २०७९, मंगलवार १४:५३

कैलाली – नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले आफू पार्टीभित्रै रहेर देश, नागरिक, राष्ट्रियता र लोकतन्त्रको पक्षमा दृढतापूर्वक अघि बढ्ने कुरामा अडिग रहेको बताउनुभएको छ ।

मङ्गलवार कैलालीको धनगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता रावलले कुनै पार्टी र त्यसका नेताहरूले देश र नागरिककाे हित विपरीत काम गरे आफूले एमालेमै रहेर त्यस्ता गतिविधि रोक्नका लागि कदम चाल्ने बताउनुभयाे । तर पार्टी भित्रबाट आफूलाई निषेध गर्ने प्रयास भइरहेको भन्दै नेता रावलले गुनासोसमेत गर्नुभयो ।

कार्यक्रममा बाेल्दै नेता रावलले पार्टी अध्यक्ष केपी ओली, उपाध्यक्ष विष्णु पौडेलले अर्को पार्टीमा गइसकेका माधव नेपाललाई राष्ट्रपति बन्न प्रस्ताव गर्न मिल्ने, कांग्रेसको गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन हुने उल्लेख गर्दै आफूले भने कुनै पनि नेतालाई भेट्न नहुने भन्ने कुरा सह्य हुनै नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयाे, ‘चुनाव अगाडि शेरबहादुरजीसँग गठबन्धन गर्ने पुष्पकमल दाहाल प्रचण्डजीलाई प्रधानमन्त्री बनाउने हाम्रा पार्टीका अध्यक्ष केपी ओलीजी । माधव नेपालजीसँग तीन घण्टा वार्ता गरेर तपाईँ राष्ट्रपति भइदिनुस्, अब तपाईँ र हाम्रो पार्टी मिलौँ भनेर केन्द्रमा कुरा गर्ने हाम्रा पार्टी अध्यक्ष केपी ओलीजी । अनि देउवा र प्रचण्डलाई खुसी पार्न म अछाम गए रेँ । केन्द्रमा हाम्रा पार्टीका अध्यक्ष केपी ओलीजी र विष्णुप्रसाद पौडेलजी स्वयंले कोटेश्वरमा गएर माधव नेपालजीसँग वार्ता गर्नुभएको छ । अरूले पनि गर्नुभएको छ । अनि उहाँहरूले पार्टीबाट अलग भएर गइसकेका माधव नेपालजीलाई राष्ट्रपति बनिदिनुस्, पार्टी एकता गरौँ भन्दा पनि हुने, मिल्ने, प्रचण्डजीलाई प्रधानमन्त्री बनाउन पनि हुने । अनि मैले यहाँ कुनै मान्छे भेटेपछि भीम रावल समाजवादी भइसक्यो भन्ने ? राजनीतिमा यस्तो पनि हुन्छ ?’

नेता रावलले ५० वर्ष रगत, पसिना बगाएर आफैँले बनाएको पार्टी छाड्न नसकिने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब नयाँ गन्तव्य के हुन्छ भन्ने कुरा छ । अहिलेसम्म म जुन बाटो हिँडे झन्डै ५० वर्ष । म त्यहीँ बाटोमा हिँडिरहेको छु अहिले पनि । जुन व्यक्तिले यो पार्टी निर्माणमा निरन्तर ५० वर्ष पसिना र रगत बगायो । त्यति बेलामा निरङ्कुश व्यवस्थाका प्रताडना, जेलनेलहरूको सामना गर्‍याे । सङ्गठन स्वदेश र प्रवासमा विस्तार गर्‍याे । नयाँ–नयाँ मोर्चामा पार्टी निर्माण गर्‍याे । अब त्यो व्यक्तिसँग कसैले भेट्नु हुँदैन । ए, भेट्न नजानु है । नम्बर काटिन्छ । योजना पाइँदैन । पार्टीको पदबाट निष्कासित हुन्छ भनेर भन्ने कुरा गर्दा म दोहोर्‍याएर भन्न चाहन्छु–मलाई पञ्चायतको गाउँ फर्ककै सम्झना आउँछ ।’

नेता रावलले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले भर्खरै आफ्नो गृह जिल्ला अछाम पुगेर आफूमाथि पार्टीको जिम्मेवारी नलिएको आरोप लगाउनुभएको भन्दै आपत्तिसमेत जनाउनुभयो । आफूले पार्टीको विधि र निर्णय मान्दा पनि नेताहरूले अनावश्यकरूपमा आरोप लगाउने गरेको उहाँले गुनासो गर्नुभयो ।

नेता रावलले जनताको बहुदलीय जनवादले मार्ग निर्देश गरेअनुसार आफूले पार्टीभित्र अध्यक्षका लागि दिएको उम्मेदवारीलाई पार्टी अध्यक्ष केपी ओलीविरुद्ध गयो भनेर पार्टी भित्रैबाट कुप्रचार गरिएको पनि उल्लेख गर्नुभयाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*