सभामुखको अधिकार कुण्ठित गर्न खोजे संसद् गतिहीन हुन्छ : एमाले सचेतक बर्ताैला

काठमाण्डाै – नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले प्रतिनिधि सभा नियमावलीमार्फत सभामुखको अधिकार कुण्ठित गर्न खोजे संसद्को प्रभावकारितामा गतिरोध उत्पन्न हुने बताउनुभएको छ ।
सचेतक बर्तौलाले प्रतिनिधि सभाका सभामुख सभाको नेता भएको भन्दै उहाँलाई सिङ्गो संसद्ले विश्वास गर्नुपर्ने बताउनुभयो । उहाँले प्रतिनिधि सभा नियमावलीमा सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराउनु सार्वभौम अधिकारको कुरा भए पनि सबैले सभामुखप्रति विश्वास गर्नुपर्नेमा जोड दिनुभयो ।
मङ्गलवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सचेतक बर्ताैलाले सभामुख सभाको रेफ्री भएको भन्दै रेफ्रीले कति बेला सिठी बजाउने भन्ने कुरा कतै भएको निर्णयबाट निर्देशित भएर गर्नु नहुने बताउनुभयो । उहाँले सभामुखले कार्यव्यवस्था परामर्श समितिको निर्णयको आधारमा मात्रै सभा सञ्चालन गर्ने व्यवस्था भएमा संसद्को प्रभावकारितामा गतिरोध उत्पन्न हुने बताउनुभयो । त्यसो भएमा संसदीय मूल्य, मान्यता र गरिमा नरहने उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘माननीयहरूले राखेको विषय उहाँहरूको सार्वभौम अधिकारको कुरा हो । हामी सबैले के बुझ्नु पर्छ भने सभामुख भनेको लिडर अफ द हाउस हाे । प्रतिनिधि सभाको सभामुख भनेको हाउसको अगुवा र नेता भएकोले उहाँलाई सिङ्गो हाउसले विश्वास गर्नुपर्छ भन्ने हो । किनभने उहाँ रेफ्रीको भूमिकामा हुनुहुन्छ । रेफ्रीले कति बेर सिठी बजाउने भन्ने कुरा कुनै ठाउँबाट निर्णय गरेर, निर्देशित गर्न थाल्यो भने त्यो रेफ्रीको पर्फमेन्स के हुन्छ ? सिङ्गो खेलको अवस्था के रहन्छ ? त्यस कारण रेफ्रीले निष्पक्षता, तटस्थताको आधारबाट भूमिका निर्वाह गर्नुपर्छ ।’
सचेतक बर्तौलाले सभामुखले तटस्थ भूमिका निर्वाह गर्न नसकेमा त्यसको उपचार खोज्ने व्यवस्था नियमावलीमा नै रहेको उल्लेख गर्नुभयो । नियमावली बनाउने सन्दर्भमा सत्तापक्ष र प्रतिपक्षको छायाँ पार्न नहुने उहाँले बताउनुभयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले कार्यव्यवस्था परामर्श समितिको निर्णयको आधारमा मात्रै सभामुख अगाडि बढ्दा संसद् गतिहीन हुनसक्ने र अवरोधहरूको जञ्जालमा पर्नसक्ने बताउनुभयो ।
सचेतक बर्ताैलाले संसदमा नियमावली निर्माणको सन्दर्भमा विभाजित हुनुहुँदैन भन्ने निष्कर्ष राजनीतिक दलहरूको रहेको पनि उल्लेख गर्नुभयो ।