प्रि–मनसुन: चट्याङ र हावाहुरीबाट सावधानी अपनाउन आग्रह
जल तथा मौसम विज्ञान विभागले प्रि–मनसुनको समय भएकाले चट्याङ र हावाहुरीबाट सावधानी अपनाउन आग्रह गरेको छ ।
विभागले सार्वजनिक गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भेगमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । त्यस क्रममा मेघगर्जन, चट्याङ र हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको हो ।
अहिले नेपालमा स्थानीयसँगै पश्चिमी वायुको सामान्य प्रभाव छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा मौसम सफा छ ।
दिउँसो देशभरको पहाडी इलाकामा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहने पूर्वानुमान छ । कोशी, वागमती र गण्डकीका पहाडी भेगमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने छ । बाँकी भूभागमा मौसम सफा रहने छ । कोशी र गण्डकीका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।