खुलामञ्चमा प्रवेश नपाएका मिटरब्याज पीडितहरुले सडकपेटीमै रात कटाए

जनपत्र
१४ चैत्र २०७९, मंगलवार ०७:५८

सरकारलाई आफ्ना माग सुनाउन ११ दिन पैदलयात्रा गरेर काठमाण्डौ आएका मिटरब्याज पीडितहरूले गएराति खुलामञ्च अगाडि रात कटाएका छन् । उनीहरु सडकपेटीमै बसेका छन् ।

हिजो प्रहरीले खुलामञ्चमा प्रवेश गर्न नदिएपछि मिटरब्याज पीडितहरू रातभर सडकपेटीमै बस्न बाध्य भएका हुन् । उनीहरुले हिजो खुलामञ्चको गेट अगाडि प्रदर्शन समेत गरेका थिए । महोत्तरीको बर्दिवासदेखि ११ दिनको पैदल यात्रापछि आइतवार बिहान उनीहरु काठमाण्डौ आइपुगेका हुन् ।

सरकारले पहिले आफूसँग गरेका सम्झौता पालना गर्नुपर्ने उनीहरूको माग छ । न्याय खोज्दै ७२ जना पीडित पैदल हिँडेर काठमाण्डौ आएका हुन् । मिटरब्याजविरुद्ध यसअघि पनि धर्नामा बसेका उनीहरु सरकारले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि फर्किएका थिए ।

गएको जेठ अन्तिममा पनि देशभरबाट आएका पीडितहरु न्याय माग्दै माइतीघर मण्डलमा धर्ना बसेका थिए । जेठ र साउन गरी दुई चरणमा ६१ दिन धर्ना बसेपछि सरकारले असोज १ गते सम्झौता गरेको थियो ।

गृह मन्त्रालयले गरेको सम्झौतामा मिटरब्याजी सुदखोरहरूले धनसम्पत्ति लिन गरेका लिखत वा मौखिक धम्कीबाट किसानलाई मुक्त गर्ने, सुदखोरहरूको सम्पत्ति छानबिन गर्ने, मानसिक प्रताडना तथा हिंसाको कारण ज्यान गुमाएका ऋणीका परिवारलाई राहत तथा क्षतिपूर्ति भराउने उल्लेख थियो।

त्यस्तै, साँवाब्याज चुक्ता गर्दा वा गर्न तयार हुँदा पनि जग्गा फिर्ता नगरेको पुष्टि हुन आएमा जग्गा फिर्ता गर्न अन्तरनिकाय समन्वय गर्नेलगायत सहमति भएको थियो । सम्झौता अनुसार सरकारले काम नगरेको पीडितहरुको गुनासो छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*