इम्बोस्ड नम्बर प्लेट नेपालीमा राख्ने कार्ययोजना पनि अघि बढिसक्याे : मन्त्री श्रेष्ठ

जनपत्र
१३ चैत्र २०७९, सोमबार १४:५२

काठमाण्डाै – सरकारले इम्बोस्ड नम्बर प्लेटलाई नेपालीमा राख्ने कार्ययोजना पनि अघि बढाएको छ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले याे जानकारी गराउनु भएको हो ।

सोमवार मन्त्रालयको कार्य प्रगति विवरणबारे जानकारी दिन मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको समेत निर्देशनमा याे कामलाई सुरु गरिएको पनि स्पष्ट पार्नुभयो । उहाँले नेपाली समाज र सरकारी निकायले धेरै पटक भनेपछि मन्त्रालयले त्याे कामलाई अघि बढाउने गरी कार्ययोजना बनाउनुपरेको स्पष्टीकरणसमेत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सवारी साधनहरूमा राखिने इम्बोस्ड नम्बर सरकारी तहमा पनि, नेपाली समाजमा पनि धेरै पटक नेपालीमा राख्नुपर्छ भनेर पनि बहस हुने गरेकै हो । प्रारम्भमा त्यसबारेमा प्रक्रिया अघि बढेको पनि हो । अहिले अङ्ग्रेजीमा छ । तर हाम्रो मन्त्रालयले अहिले प्रधानमन्त्रीसमेतको परामर्श र निर्देशनमा इम्बोस्ड नम्बर प्लेटलाई नेपालीमा पनि राख्ने कार्ययोजना अगाडि बढाएको छ ।’

उपप्रधानमन्त्री श्रेष्ठले याे कामलाई अघि बढाउन सम्बन्धित एजेन्सीसँग छलफल गरिएको र अब सरकारले यो कामलाई तीव्रता दिने पनि बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*