बाग्लुङ : हटिया–ताराखोला सडक निर्माणकाे म्याद सकियो, सकिएन कालोपत्र

जनपत्र
१३ चैत्र २०७९, सोमबार १३:०५

बाग्लुङ – निर्माण व्यवसायीले सरसर्ती सडकको काम गरेको भए अहिले गलकोट हुँदै ताराखोलाको यात्रा निकै सहज हुन्थ्यो ।

गलकोट नगरपालिकाको केन्द्र हटियादेखि गाईघाट हुँदै ताराखोला जोड्ने रणनीतिक सडक म्याद सकिँदासम्म कालोपत्र हुन सकेको छैन । डेढ वर्षअघि नै कालोपत्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेकोमा दुई पटक म्याद थप गर्दासमेत याे सडकको कालोपत्र सम्पन्न हुन नसकेको हो । समयमै कालोपत्र नहुँदा गलकोट नगरपालिकाको केन्द्र हुँदै ताराखोला पुग्ने यात्रुलाई सास्ती भएको छ ।

ठेकेदार कम्पनीको लापरबाहीका कारण सडक समयमै नसकिएको गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरेले बताउनुभयो । ‘गलकोटको गौदीखोला पुलदेखि गलकोट नगरपालिकाको कार्यालयअघि हुँदै ताराखोला पुग्ने सडक चार वर्ष पुगिसक्दासमेत कालोपत्र भएन’, उहाँले भन्नुभयो, ‘दुई पालिका जोड्ने सडक कालोपत्र भएमा गलकोट र ताराखोलाको सिमानामा रहेको गाइघाट झरनामा पुग्ने पर्यटकलाई समेत सहज हुने थियो, अहिले गलकोट नगरपालिकाको कार्यालय अघि कालोपत्रका लागि ढिलै भए पनि ग्राभेल गरेको छ ।’

ताराखोलालाई केन्द्र बनाएर गलकोट नगरपालिका र म्याग्दी जोड्ने याे रणनीतिक सडक म्याद सकिएको डेढ वर्ष भइसकेको छ । म्याद सकिएपछि दुई पटक म्याद थप्दासमेत कालोपत्र नभएको पूर्वाधार कार्यालय बाग्लुङले जनाएको छ । पूर्वाधार कार्यालय बाग्लुङका प्रमुख गणेश सुवेदीले निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सडक कालोपत्रमा समस्या भएको जानकारी दिनुभयो ।

‘यो ठेक्का आर्थिक वर्ष २०७५/०७६ लगाइएको थियो, आउँदाे म्याद सकिएपछि पुन दुई पटक थपियो, पुससम्म ठेक्का म्याद छ, त्यो म्यादभित्र सडक कालोपत्र सक्न निर्देशन दिएका छौँ, अहिले ग्राभेलको काम गरिरहेको छ तर गाईघाट झरनाभन्दा माथि भौगोलिक जटिलताको कारण देखाउँदै काम ढिलो गरेको छ’, उहाँले भन्नुभयो, ‘अहिले पाँच किलोमिटर सडकमा ग्राभेल गरेको छ त्यही गतिमा काम गरे मात्रै पुससम्म सम्भव होला नत्र अहिले कायम भएको मितिभित्र समेत सडक कालोपत्र सकिँदैन ।’

उहाँका अनुसार कोरोना महामारी र आर्थिक वृद्धिदरको कारण देखाउँदै ठेकेदार कम्पनीले काममा ढिलाइ गरेको हो । अहिले बिछ्याएको ग्राभेलमा समेत त्रुटि देखिएकाले सच्चाउन लगाइएको छ । झन्डै ४० किलोमिटर लामो रणनीतिक सडकमध्ये अहिले गलकोटको हटियादेखि सयपत्री जलविद्युत् आयोजनासम्म १० किलोमिटर मात्रै कालोपत्रको लागि एपेक्स खड्का कृष्ण संयुक्त निर्माण कम्पनीसँग २४ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

ठेक्का लिएको १० किलोमिटरमध्ये साढे पाँच किलोमिटर सडकमा बेस राखेर ग्राभेल भरे पनि बाँकी खण्डमा काम  ढिलो भएको छ । याे सडकको अहिलेसम्मको प्रगति  ५० प्रतिशत मात्रै भएको छ । अहिलेसम्म १२ करोड रुपैयाँभन्दा धेरै रकम भुक्तानीसमेत भइसकेको छ । सडक कालोपत्रमा ढिलाइ हुँदा गलकोट नगरपालिका वडा नं ५ र ६ तथा ताराखोला गाउँपालिका वडा नं १ र ३ का बासिन्दाले सास्ती खेप्दै आएका छन् ।

सडक निर्माणको जिम्मा पाएको एपेक्स खड्का कृष्ण संयुक्त निर्माण कम्पनीका इन्जिनियर रामु कँडेलले कोरोना महामारी, विद्युतीय पोल र मूल्यवृद्धिका कारण समयमै काम नसकिएको जिकिर गर्नुभयो । उहाँले पुस मसान्तसम्म सात किलोमिटर सडक कालोपत्र गरिसक्ने बताउँदै पूर्वाधारको काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*