कञ्चनपुरमा एमाले र एकीकृत समाजवादीका नेताको संयुक्त भेलालाई भीम रावलको सम्बोधन
धनगढी। नेकपा एमालेका नेता भीम रावलले कञ्चनपुरमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरुसँग भेटघाट गरेका छन् । आइतबार महेन्द्रनगरको सिद्धार्थ होटलमा दुवै पार्टीका कार्यकर्ताहरुसँग भेटघाट गरेका हुन् ।
रावलले नेता कार्यकर्ताबाट भेटघाट र छलफल गरौं भनेर आग्रह भएकाले संविधान निर्माण र राष्ट्रिय राजनीतिको वर्तमान अवस्थाबारे चर्चा गरेको बताए । उनले संविधान निर्माणको उद्देश्य एकातिर छाडेर कार्यान्वयन अर्कै ढंगले भइरहेको बताए ।
‘३४ अर्ब रुपैयाँ खर्चिदै दुई–दुई पटक संविधानसभाको चुनाव गरी ८ वर्ष समय लगाएर संविधान बनायौं । संविधान के उद्देश्यले निर्माण गरेका थियौं तर अहिलेको कार्यान्वयनको अवस्था के छ ?’, रावलले भने, ‘राजनीतिक दल र सरकारबाटै संविधान मिच्ने काम भइरहेका छन् । यसमा हामी सबै गम्भीर बन्नुपर्नेछ ।’
सरकारले गरेको एमसीसी सम्झौता र पश्चिम सेती परियोजना निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिएको प्रसंग उठाएका रावलले बढ्दो आर्थिक संकटले मुलुक दलाल पुँजीवादीको हातमा गइसकेको टिप्पणी गरे ।