काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारको न्युनतम साझा कार्यक्रममा हस्ताक्षर भएपछि मात्र सरकारले पूर्णता पाउने बताएका छन् ।
आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले नयाँ बनेको गठबन्धनका दलहरुका बीचमा सरकारको साझा नीति तथा कार्यक्रमको सम्बन्धमा छलफल भइरहेको बताए ।
‘आज बल्ल हामी अहिलेको सरकारको जुन नीतिगत प्रतिवद्धता हो, साझा नीति र कार्यक्रम अगाडि सार्नुपर्ने, त्यसको निम्ति छलफल भइराखेको छ । छलफल भएर टुंगो लाग्ला । त्यो कागजमा हस्ताक्षर होला । त्यही वैचारिक मान्यता, त्यही नीतिगत मान्यता, त्यही कार्यक्रमको मान्यताको आधारमा नै सरकारले पूर्ण आकार प्राप्त गर्नेछ ।’
अध्यक्ष नेपालले आफ्नो पार्टीले गृह, अर्थ र परराष्ट्र मन्त्रालयको दाबी नगरेको बताए । उनले देशको अर्थतन्त्रको समस्यालाई राम्ररी बुझेको र समस्याको समाधान दिनसक्ने व्यक्तिलाई अर्थमन्त्री बनाउन आफूले प्रधानमन्त्रीलाई सुझाव दिएको धारणा राखे ।