मुडुखु नाकाबाट ओखरपौवासम्म फोहर बोक्ने गाडीलाई टाइमकार्ड

काठमाण्डाै – मुडुखु नाकाबाट तीनपिप्ले हुँदै ओखरपौवा चल्ने फोहर बोक्ने गाडीलाई आज शनिवारदेखि टाइमकार्ड लागू गरिएको छ ।
दुर्घटनाको जोखिम हुने गरी तीव्रगतिमा गाडी चलाउने गरेको र असुरक्षित महसुस भएको गुनासो स्थानीयबाट आएपछि काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाण्डाै महानगरपालिकाको संयुक्त पहलमा फोहर बोक्ने गाडीमा आजदेखि टाइमकार्ड लागू गरिएको हो ।
मुडुखु नाकामा चालकलाई टाइमकार्ड दिइने र पालना भए/नभएको जाँच तीनपिप्ले र ओखरपौवा चेकपोष्टले गर्ने भएकाे छ ।
मुडुखुदेखि तीनपिप्लेसम्मको सडक खण्डमा प्रतिघण्टा ३० किलोमिटर र तीन पिप्लेदेखि ओखरपौवा चेकपोष्टसम्मको सडक खण्डमा प्रतिघण्टा २० किलोमिटर गति निर्धारण गरिएको प्रहरीले जनाएकाे छ ।मुडुखुदेखि तीनपिप्लेसम्मको ५ किलोमिटर सडक खण्ड पार गर्न न्यूनतम १० मिनेट र तीन पिप्लेदेखि ओखरपौवासम्मको ८ किलोमिटर सडक खण्डमा न्यूततम २५ मिनेट समय निर्धारण गरिएको छ ।
तोकिएको ठाउँमा निर्धारित समयभन्दा छिटो पुगेमा कारबाही गरिने काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयाे । टाइमकार्डले आवागमन व्यवस्थापनको साथमा गन्तव्यमा छिटो पुग्नका लागि तीव्र गतिमा गाडी चलाउने प्रवृत्तिलाई निरुत्साहित गर्ने विश्वास लिइएकाे छ ।
सहज र सुरक्षित यात्राको लागि टाइमकार्डका साथै ट्राफिक नियमको पूर्ण पालना गर्न चालकलाई भट्टकाे अनुरोध छ ।