अर्थले बजेट रोक्दा नवौं खेलकुदका स्वर्ण विजेताले अझै पाएनन् पुरस्कार

जनपत्र
१० चैत्र २०७९, शुक्रबार १५:१७

काठमाडौं । अर्थ मन्त्रालयले समन्वय नगरी बजेट रोक्का गरिदिँदा नवौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेताले पाउने पूर्वघोषित नगद पुरस्कार प्रदान गर्न ढिलाइ भएको राष्ट्रिय खेलकुद परिषद (राखेप)ले जनाएको छ ।

गएको असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत स्पर्धामा स्वर्ण जित्नेलाई २५ हजार र सामुहिक खेलका स्वर्ण विजेतालाई जनही १५ हजार रुपैयाँ प्रोत्साहन पुरस्कार प्रदान गर्ने निर्णय राखेप बोर्डले गरेको थियो ।

नवौं राष्ट्रिय खेलकुदमा ३९७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । व्यक्तिगत खेलका ३०४ र सामूहिक खेलका ५३६ जना खेलाडीका लागि १ करोड ५६ लाख ४० हजार रुपैयाँ आवश्यक पर्छ । तर, अर्थ मन्त्रालयले जानकारी नै नदिई राखेपको खाता रोक्का गरिदिएकाले खेलाडीलाई प्रदान गर्ने पुरस्कार रकममा केहि ढिलाई हुन गएको सदस्यसचिव टंकलाल घिसिङले स्वीकार गरे ।

राखेपको खाता रोक्का भएका कारण खेलाडीको पुरस्कारमात्र होइन ओलम्पियन तथा एसियाली खेलकुदका पदकधारी र दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण विजेता खेलाडीले पाउँदै आएको मासिक भत्तासमेत दुई महिनादेखि रोकिएको छ । सरकारले ओलम्पियनलाई मासिक ४ हजार र एसियाड पदकधारी तथा साग स्वर्णधारीलाई मासिक ६ हजार रुपैयाँ भत्ता दिँदै आएको छ ।

बुधबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, ओलम्पियन संघलगायतले सदस्यसचिवलाई भेटेर राष्ट्रिय खेलकुदका स्वर्णधारीले पाउनुपर्ने पुरस्कार र अन्तर्राष्ट्रिय पदकधारीले पाउनुपर्ने भत्तामा विलम्ब भएकोबारे ध्यानाकर्षण गराएका थिए ।

‘अर्थ मन्त्रालयले खाता रोक्का गरेको हामीले पछिमात्र थाहा पायौं । अहिले खेलुकद मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीहरुसँग पटक पटकको छलफलपछि उनीहरु फुकुवा गर्न सहमत भएका छन् । तर, काम भइसकेको छैन’ राखेप सदस्यसचिव घिसिङले पुरस्कार विजेता खेलाडीलाई केही दिन धैर्य गर्न अनुरोध गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*