वैदेशिक रोजगारीमा गएकालाई सामाजिक सुरक्षा, तर थाहै छैन धेरैलाई
सरकारले गएको बुधबार वैदेशिक रोजगारीमा रहेका वा त्यहाँ स्वरोजगार रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरणको शुभारम्भ गर्याे । तामझामका साथ शुभारम्भ गरेको कार्यक्रममा लक्षित श्रमिकको उपस्थिति भने थिएन । वैदेशिक रोजगारीमै रहेका धेरै श्रमिकहरुलाई यसबारे थाहा पनि छैन ।
कति नेपाली वैदेशिक रोजगारीमा गएका छन् भन्ने यकिन तथ्यांक सरकारसँग छैन । ४० देखि ५० लाखको हाराहारीमा नेपाली युवा वैदेशिक रोजगारीमा रहेको अनुमान छ । उनीहरुले नै पठाएको रेमिट्यान्सले देशको अर्थव्यवस्था धानिरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको सात महिनामा रेमिट्यान्स २७ दशमलव एक प्रतिशतले वृद्धि भई छ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ ।
सरकारले यत्रो तामझाम गरेर तिनै श्रमिकको लागि यो योजना ल्याए पनि अहिलेसम्म लक्षित वर्गलाई यसबारे जानकारी नै छैन । उज्यालोको फेसबुक पेजमा गन्तव्य देशमा रहेका श्रमिकलाई यो योजनाबारे तपाईंलाई के थाहा छ, यस योजनामा आबद्ध हुन कत्तिको उत्सुक हुनुुहुन्छ भनेर राखेको प्रश्नमा धेरैले आफू यसबारे जानकार नभएको बताए ।






