भरतपुर र उदीपुर सबस्टेशनकाे काम अन्तिम चरणमा
काठमाण्डाै – मर्स्याङ्दी काेरिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुई वटा सबस्टेशनको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेशन निर्माण अन्तिम चरणमा पुगेको छ ।
भरतपुर सबस्टेशन आउँदाे वैशाखभित्र र उदीपुर सबस्टेशन असारभित्र निर्माण सम्पन्न गर्ने गरी अन्तिम चरणका कामहरू भइरहेका छन् । आयोजनाअन्तर्गत नै लमजुङको खुदी र मनाङको धरापानीमा २२० केभीका सबस्टेशनहरू निर्माणाधीन छन् ।
खुदी सबस्टेशन आउँदाे छ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने धारापानी सबस्टेशन निर्माणमा केही समय लाग्ने देखिएको छ । भौगोलिकरूपमा विकट र सबस्टेशन निर्माणस्थलमा उपकरणहरू लैजान पहुँच सडकको समस्या रहेकाले धारापानी सबस्टेशन निर्माणमा केही समय लाग्ने छ । पहुँच सडक निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको छ ।
नयाँ भरतपुर सबस्टेशनमा सञ्चालनअघि गर्नुपर्ने परीक्षणका कामहरू भइरहेका छन् । उदीपुर सबस्टेशनका धेरैजसाे सिभिल संरचनाहरूको निर्माण सम्पन्न भएको छ । सबस्टेशनमा रहने उपकरणहरू निर्माणस्थलमा ढुवानी भइसकेका छन् । उपकरणहरू जडान जारी छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमन भ्रमणमार्फत निर्माण प्रगति, बेहोरेका समस्या, काम सम्पन्न हुने तालिकालगायतका विषयमा आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीहरूसँग विस्तृत छलफल गरी सबस्टेशन तोकिएकै समयमा सम्पन्न गर्न निर्माणमा संलग्न सबैलाई आग्रह गर्नुभएको छ ।
नयाँ भरतपुर र उदीपुर सबस्टेशनमा क्रमश २२०/१३२ केभी, ३२० एमभीए र २२०/१३२ केभी, १६० एमभीए तथा १३२/३३ केभी, ५० एमभीए क्षमताका पावर टान्सफर्मरहरू रहने छन् ।
खुदी र धारापानी सबस्टेशनमा क्रमशः २२०/१३२ केभी, १६० एमभीए तथा १३२/३३ केभी, ५० एमभीए र २२०/१३२ केभी, १०० एमभीए तथा १३२/३३ केभी, ३० एमभीए क्षमताका पावर ट्रान्सफर्मरहरू रहने छन् । खुदी सबस्टेशनमा रहने पावर ट्रान्सफर्मर राखिने स्थान, नियन्त्रण कक्षलगायतका सिभिल संरचनाहरूको निर्माण सम्पन्न भएको छ । ट्रान्सफर्मरलगायतका उपकरणहरू निर्माणस्थलमा ढुवानी सुरु भएको छ ।
मर्स्याङ्दी र त्यसका सहायक नदीहरूबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङ्दी काेरिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट झन्डै एक हजार छ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिने छ । आयोजनाअन्तर्गत चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको ११३ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माणाधीन छ ।
आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेशनसम्मको झन्डै ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ । दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सबस्टेशन निर्माणको अन्तिम चरणमा छन् । तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई वटा सबस्टेशन निर्माण भइरहेको छ ।
नेपाल सरकारको लगानी र युरोपेली लगानी बैंक (ईआइबी) को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत झन्डै १६ अर्ब रुपैयाँ छ ।