बागमती प्रदेशः केन्द्रमा भागवण्डाको पर्खाइमा कांग्रेस, विश्वासको मत लिइहाल्ने दाउमा माओवादी

जनपत्र
९ चैत्र २०७९, बिहीबार ०८:०५

हेटौंडा । बागमती प्रदेशसभामा सत्तारुढ गठवन्धनका दलहरुका बिचमा पनि आपसी समझदारी हुन सकेको छैन । बुधबारको प्रदेशसभा बैठमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिन हेटौंडामा नआएको कांग्रेसको आफ्नै दाउ छ ।

दुइदिन भित्रमा केन्द्रमा दलहरुको भागवण्डामा बागमती प्रदेश नेपाली कांग्रेसले लिने सहमती गराएर ठुलो दलका हिसावले आफु मुख्यमन्त्री बन्ने दाउमा नेपाली कांग्रेसका संसदीय दलका नेता बहादुर सिंह लामा पनि छन् ।

नेकपा माओवादीका संसदीय दलका नेता तथा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल पनि विश्वासको मत प्राप्त गरिसक्नुपर्ने एक महिनाको समय अगाबै कांग्रेससंग विश्वासको मत लिएर सरकारको नेतृत्व निरन्तर गरिहाल्ने दाउमा छन् । चैत १३ गते सम्म बिश्वासको मत लिइसक्नुपर्ने कानूनी प्राबधान भएपनि जम्मकट्टेलले चैत ८ गतेनै बिश्वासको मत लिएर ढुक्कसंग सरकार चलाइरहने दाउमा पनि ब्रेक लागेको छ । तोकिएको दिनमा बिश्वासको मत जम्मकट्टेलले पाउन सकेनन् ।

यता नेपाली कांग्रेसका संसदीय दलका नेता बहादुर सिंह लामा भने अहिले सम्म बागमती प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्न नपाएकालेठुलो दलका हिसाबले पनि आफुले नेतृत्व गर्न पाउनुपर्ने दावि गर्छन् । उनले भने–‘बागमती प्रदेश सरकारमा अघिल्लो कार्यकाल र यो कार्यकालको सुरुवातमा पनि कांग्रेसले नेतृत्व गर्न पाएको छैन । कांग्रेस यस प्रदेशका सबै भन्दा ठुलो दल भएकाले पनि हामिलेनै सरकारको नेतृत्व गर्न पाउनुपर्छ ।’

केन्द्रमा सत्तारुढ दलहरुका बिचमा भागवण्डा ढिलो हुने भएमा मुख्यमन्त्रीलाई विश्वासको मत दिन तयार रहेको लामाले वताए । शिर्ष नेताहरुको भागवण्डामा यस प्रदेश कांग्रेसको भागमा पर्दा मुख्यमन्त्रीले राजिनामा दिएर आफुलाई बाटो खुल्ला गर्नुपर्ने लामाले वताए । भोलीको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीलाई विश्वासको मत दिन तयार रहेको पनि वताए ।

एमालेले बुधबार विश्वासको मत दिने निश्चित भएको अवस्थामा सरकार छाड्ने तयारी गरेको थियो । कांग्रेसका सांसदहरु काठमाडौंबाट हेटौँडा नआएपछि प्रदेशसभा बैठक सारेर विश्वासको मत लिने मिति पनि धकेलिएको छ । मुख्यमन्त्री जम्मकट्टेलले १० चैतमा विश्वासको मत लिने योजना बनाए पनि एमालेले भने १२ गतेलाई बैठक राख्न लिखित प्रस्ताव गर्ने निर्णय गरेको छ ।

एमालेले बुधबार सरकार छाड्ने योजनाले हेटौँडामा संसदीय दलको बैठक बोलाए पनि अन्ततः सरकारबाट बाहिरिन सर्त राखेको छ । एमालेको सर्त नेपाली कांग्रेसले मुख्यमन्त्री जम्मकट्टेलसँग राखेको अडानसँग मिल्दोजुल्दो छ । कांग्रेसले जम्मकट्टेलले विश्वासको मत चैत १२ गते लिनुपर्ने र त्यसअघि गठबन्धनभित्र सहमति गर्नुपर्ने अडान लिएको थियो । एमालेले पनि हेटौँडामा बसेको संसदीय दलको बैठकबाट १२ चैतमा प्रदेशसभा बैठक राख्न लिखित अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रमुख सर्तका रुपमा एमालेले सरकारबाट बाहिरिनु अघि प्रदेशसभामा सम्बोधन गर्ने निर्णय गरेको छ । जसका लागि १० गते बैठकमा सहभागी हुन नसक्ने निर्णय एमालेको छ । जम्मकट्टेलले १० गते नै विश्वासको मत लिने तयारी गरेका बेला एमालेले पार्टीको मिसन ग्रासरुट अभियानको मुख्य कार्यक्रम रहेकोले १० र ११ गते प्रदेश सभामा उपस्थित हुन नसक्ने भन्दै १२ गतेलाई बैठक बोलाउन निर्णय गरेको हो ।

तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । प्रदेशमा पुस २६ मा मन्त्रिपरिषद् गठन हुँदा एमाले, माओवादी केन्द्र र राप्रपाबिच बनेको समीकरण राष्ट्रपतिको निर्वाचनसँगै भत्किएपछि राप्रपाले गत फागुन १३ गते शनिबार सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । जस अनुसार मुख्यमन्त्री जम्कट्टेलले चैत १३ गतेसम्ममा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाएका थिए । उनलाई ६ दलका १०५ जना सांसदले विश्वासको मत दिएका थिए। गत पुस २५ गते ५ दलका ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेललाई नेमकिपाका ३ जना सांसदले भने विश्वासको मत दिएका थिएनन्।

११० जना सांसद रहेको प्रदेशसभामा सामान्य बहुमतका लागि कम्तीमा ५६ जना सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशमा सबैभन्दा ठूलो दल कांग्रेसका ३६, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १२, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्। मुख्यमन्त्री जम्कट्टेललाई सत्ता गठबन्धनका ३ वटा दलका ६७ सांसदको समर्थन प्राप्त हुने देखिन्छ। कांग्रेसका ३७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसदको समर्थन पाउने देखिन्छ । राप्रपाका १३, नेमकिपाका ३ र एमालेका २७ जना सांसद मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा रहने देखिन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*