खोला खोल्छीमा त्यतिकै खेर गईरहेको तिते फूल तेस्रो मुलुकमा निर्यात

जनपत्र
८ चैत्र २०७९, बुधबार ०७:५४

जंगलको खोला खोल्छीमा त्यतिकै खेर गईरहेको तिते फूलको माग र बजार पछिल्लो समय विस्तार हुँदै गईरहेको छ । नेपाली भाषी भूटानीहरुले औधी रुचाउने फूल उनीहरु पुगेका विश्वका आठवटा मुलुकमा नेपालबाट निर्यात हुने गरेको छ ।

तरकारीको रुपमा खाँदा तितो हुने ‘चुवाफुल’ वा तिते भनिने वैज्ञानिक जात ‘एकानथासिया’ प्रजातिको फूलले पछिल्लो समय राम्रो बजार पाउन थालेको हो ।

प्रति केजी दुइ देखि तीन हजार रुपयाँसम्म विक्री हुँदै आएको फूल स्थानीयदेखि अमेरिकासम्मको बजारमा माग बढ्दै गएको दश बर्षदेखि जडिबुटी विक्री गर्दै आउनु भएका दमक निवासी तेन्छेदर भोटेले बताउनु भयो ।

औषधिको रुपमा समेत प्रयोग गरिने चुवा फूल चुरे क्षेत्रका खोला खोल्छीमा फाल्गुनदेखि चैत्र महिनासम्म फुल्ने गर्दछ । थाहा नहुँदा त्यतिकै खेर जाने फूल राम्रो मुल्यमा विक्री हुन थालेपछि चुरे क्षेत्रका बासिन्दाहरुले संकलन गरेर विक्री समेत गर्न थालेका छन् ।

विकिपिडियामा भएको रिसर्च अनुसार यो प्रजातिको फूलमा एन्टि प्याइरेटिक, हेपाटोप्रोटेक्टिभ, एन्टिअक्सिडेन्ट लगातयका अन्य धेरै तत्व हुने भएकाले जानकार मानिसले यसको प्रयोग गर्ने गरेका छन् ।

दम, खोकी, छालाको एलर्जी, प्रेसर, सुगर समेतमा प्रयोग गर्न सकिने तिते फूलबारे कमै मानिसलाई मात्र थाहा छ । ‘बाघतिता’ समेत भनेर चिनिने यो फूल राम्रो मुल्यमा विक्री हुन थालेपछि संकलन र विक्री गर्नेहरुको संख्या समेत बर्षेनी बढ्दै गएको जडिबुटी व्यवसायीहरुको भनाइ छ । नेपाल टिभीअनलाइनबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*