बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिने कांग्रेसको निर्णय

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिले असमझदारीका बीच मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिने निर्णय गरेको छ ।
काठमाडौंमा मंगलबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिने निर्णय गरेको पार्टी प्रदेश महामन्त्री राजु श्रेष्ठले जानकारी दिए । कांग्रेसले सरकारमा सहभागी निर्णय पनि गरेको छ । कांग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकमा पार्टी प्रदेशसभा संसदीय दलका नेता बहादुर सिंह लामालगायतका नेताहरूको उपस्थिति थियो ।
मुख्यमन्त्री जम्मकट्टेलले ८ चैत अर्थात् भोलि (बुधबार) विश्वासको मत लिँदैछन् । तर, कांग्रेस संसदीय दलले भने गठबन्धनको प्रमुख दलसँग सरकार गठनबारे उचित छलफल नै नगरी विश्वासको मत लिन खोजेको भन्दै असन्तुष्टि जनाएको थियो । मुख्यमन्त्रीले सल्लाह नै नगरेको भन्दै दलका नेता लामा, उपनेता रामकृष्ण चित्रकारहरू सोमबार सभापति शेरबहादुर देउवा भेट्न पुगेका थिए ।
मुख्यमन्त्री जम्मकट्टेलले छलफल नै नगरेको भन्दै नेकपा एकीकृत समाजवादी पनि असन्तुष्ट बनेको छ । कांग्रेस र एकीकृत समाजवादीले विश्वासको मत लिने मिति सारेर १२ गते पुर्याउनुपर्ने र त्यसबीचमा सरकारमा सहभागिताका विषयमा सहमति हुनुपर्ने बटमलाइन बनाउँदै आएको छ । ‘हाललाई पार्टीले विश्वासको मत दिने र सरकारमा सहभागी हुनेबारे निर्णय गरेको छ । अब विश्वासको मत लिने मिति भोलि नै हुन्छ कि सर्छ भन्ने विषय दलहरूको छलफलबाट टुंगिएला,’ कांग्रेस महामन्त्री श्रेष्ठले भने ।
मुख्यमन्त्री जम्मकट्टेलले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र (१३ चैत) विश्वासको मत लिइसक्नुपर्नेछ । १३ फागुनमा जम्मकट्टेल नेतृत्वको सरकारबाट राप्रपाले समर्थन फिर्ता लिएको थियो । उनी २५ पुसमा एमाले र राप्रपाको प्रमुख समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । बागमतीमा एमालेले पनि भोलि (बुधबार) नै सरकार छोड्ने तयारी गरेको छ । शिलापत्रबाट ।