बाख्राकाे गाेठालाे चितुवालाई बनाएपछि याे हालत भयाे : मन्त्री माेदी

जनपत्र
७ चैत्र २०७९, मंगलवार १७:१५

काठमाण्डाै – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संविधान सभामा माओवादीले धेरै मत पाउन नसकेका कारण दलित, जनजातिलगायतका उत्पीडत जातिहरूले पर्याप्त हक, अधिकार नपाएका जिकिर गर्नुभएकाे छ ।

मङ्गलवार ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस (२१ मार्च) को सन्दर्भमा काठमाण्डाैमा आयोजित सार्वजनिक समारोह कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले दलित, जनजातिलगायतका उत्पीडत जातिहरूले संविधान बनाउने बेलामा माओवादीलाई बुझ्न नसकेका बताउनुभयो । उहाँले मत हाल्ने बेलामा माओवादीलाई नसम्झेका कारण आज उत्पीडित जातजातिको पर्याप्त हक, अधिकार सुनिश्चित हुन नसकेको दाबी गर्नुभयाे । मत अरूलाई दिएर ‘बाख्राको गोठालो चितुवा’ लाई बनाएको उहाँकाे टिप्पणी छ ।

उहाँले भन्नुभयो, ‘माओवादी आन्दोलनको कारणले आज दलितहरू बोल्न पाए । आज समावेशिताको नाममा मन्त्रीमण्डलमा माओवादीबाट दुई/तीन जना जनजाति छौँ । वास्तवमा समाजको विभेद अन्त्य गर्नका निम्ति माओवादी आन्दोलन थियो । जतिखेर माओवादी आन्दोलनको एउटा सूत्रधार संविधान सभामा संविधान कोर्ने बेला थियो त्यति बेला हामीले बुझ्न सकेनौँ । अहिले ठूल्ठूला कुरा गर्दैछौँ । त्यतिखेर भोट दिने बेलामा, जति बेला आफ्नो भाग्य र भविष्य निर्माण गर्ने बेलामा संविधान सभामा हाम्रो आफ्नो मत दिएर, आफ्नो अधिकारको निम्ति तपाईँहरूले भोट हाल्ने बेलामा त्यतिखेर सम्झनुभएन । उखान छ, बाख्राको गोठालो चितुवालाई दिएपछि बाख्रा सग्लो खोजेर पाइन्छ ? त्यतिखेर भोट दिने बेलामा माओवादीलाई नदिइकन अर्कोलाई दिनुभयो, आज त्यही हालत छ ।’

मन्त्री मोदीले माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा जातीय मुक्ति आन्दोलनको नेतृत्व गरेको भन्दै उहाँलाई नेपालको नेल्सन मन्डेलाको संज्ञा दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*