नयाँ टिम र नयाँ चुनौतीका साथ प्रतियोगिताका लागि तयार छौं : प्रशिक्षक एनेस
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले सात नयाँ खेलाडीको साथमा घरेलु मैदानमा हुन लागेको प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता खेल्न आफूहरु तयार रहेको बताएका छन् ।
प्रशिक्षक नियुक्तिपछि नेपालका लागि उनको यो पहिलो प्रतियोगिता हो । उनी सिनियर खेलाडीको साथमा नयाँ टिमसँग प्रतियोगिताका लागि तयार रहेको बताउँछन् ।
‘छोटो समयमा प्रतियोगिताका लागि टिम तयार गरेको छु’, प्रधानमन्त्री कपको पूर्वसन्ध्यामा भएको पत्रकार सम्मेलनमा उनले भने, ‘यो सहज थिएन तर यो चुनौतीका साथ हामी खेल्न तयार छौं ।’
उनले नेपालमा कार्यकाल सुरु गरेको १८ दिन भयो । र उनले राष्ट्रिय टिमका खेलाडी जम्मा गरेर प्रशिक्षण दिएको ४ दिन मात्र भयो । चार दिनको प्रशिक्षणपछि नै उनले अन्तिम टोली घोषणा गरेका छन् ।
प्रशिक्षक एनेसले यस पटकको प्रतियोगिताका लागि पूर्णतया फिट र ९० मिनेट खेल्न सक्ने खेलाडी मात्रै छनोट गरेको बताए । ‘अहिलेको टिममा मैले ए डिभिजनका खेलाडीबाट प्रतियोगिताका लागि सहि र पूर्णतया ठिक भएका खेलाडीलाई मात्र छनोट गरेको छु ।’