आज घोडेजात्रा पर्व, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

जनपत्र
७ चैत्र २०७९, मंगलवार ०६:५२

आज (मंगलबार) काठमाडौं उपत्यकामा घोडेजात्रा पर्व मनाइँदै छ। घोडेजात्रा अत्यन्तै पुरानो अनि सामाजिक जात्राका रूपमा प्राचीनकालदेखि नै काठमाडौं उपत्यकामा मनाइँदै आएको परम्परा हो।

घोडेजात्राको अवसरमा नेपाली सेनाले हरेक वर्ष काठमाडौंको टुँडिखेलमा अश्वकलाको प्रदर्शनी गर्दै आएको छ। यस्तै, ललितपुरको पाटनमा एक्लो घोडा दौडाएर घोडेजात्रा मनाउने चलन छ।

घोडेजात्राको अवसरमा नेपाली सेनाले टुंडिखेलमा विशेष कार्यक्रम गर्ने बताएको छ। कार्यक्रममा नेपाली सेना र नेपाल प्रहरीका जवानहरुले घोडादौड तथा अश्वकला प्रदर्शन गर्ने छन्।

परापूर्वकालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा पर्व मनाइएको पाइन्छ।

अर्को किंवदन्तीअनुसार प्रत्येक वर्षको चैत्र शुक्ल प्रतिपदाबाट नयाँ वर्षको थालनी हुने विश्वासका आधारमा उक्त दिनको अघिल्लो दिन चैत्र कृष्ण औंसीमा घोडा कुदाएर अश्वयात्रा गरी नयाँ वर्षलाई स्वागत गरिने प्रचलन रहेको हो।

घोडेजात्राको अघिल्लो दिन चैत कृष्ण चर्तुदशीलाई पिशाच चतुर्दशीका रुपमा समेत लिइन्छ।

घोडेजात्राको अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*