भ्रष्टाचार आरोपमा मुद्दा दायर

जनपत्र
७ चैत्र २०७९, मंगलवार ०६:४६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास कार्यालय, कालीकोटका निमित्त कार्यालय प्रमुख भरतबहादुर बस्नेतसहित १२ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सिमनाथ कृषि विकास सहकारी संस्था लिमिटेड, रास्कोट–३ मा उच्च प्रविधियुक्त नर्सरी स्थापनाका लागि उपलब्ध गराएको सरकारी अनुदानको पेस्की रकम सम्झौताअनुसार काम नगरी रकम हिनामिना गरेको आरोपमा मुद्दा दायर गरिएको हो। बस्नेतले कृषि ज्ञान केन्द्र कालीकोटको निमित्त प्रमुख रहेका बेला उक्त रकम हिनामिना गरेको आयोगको दाबी छ।

आयोगले बस्नेतसहित खाँडाचक्र नगरपालिका कालीकोटका तत्कालीन इन्जिनियर सुमित भट्ट र खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय कालीकोटका तत्कालीन सबइन्जिनियर गुरुराज सन्ज्यालविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। सिमनाथ कृषि विकास सहकारी संस्था लिमिटेडबाट जडान भएका मालसामानको अवलोकन तथा परीक्षण नै नगरी कार्यसम्पन्न प्रतिवेदन तयार गरी सोही प्रतिवेदनसमेतका आधारमा ६६ लाख ५० हजार रुपियाँ भुक्तानी गरी भ्रष्टाचार गरेको आयोगका प्रवक्ता भोला दाहालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ। सबै आरोपीलाई सोही रकम बराबर बिगो तथा भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गरिएको छ।

मूल्याङ्‍कन तथा छनोट समितिका पदाधिकारीहरू हरिप्रसाद पण्डित, श्रीधर अधिकारी, दीपककुमार भण्डारी, हीरानन्द देवकोटा, अनुप तिवारी, पूर्णबहादुर थापा र होमनाथ लम्सालविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ। निजहरूलाई भने बिगो रकम तोकिएको छैन।

त्यस्तै सिमनाथ कृषि विकास सहकारी संस्था लिमिटेडका अध्यक्ष तथा कोषाध्यक्ष क्रमशः कमलबहादुर शाही र सुरेन्द्रबहादुर शाहीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ। विद्युत् नै नभएको ठाउँमा विद्युत् चाहिने आयोजनाका लागि अनुदान माग गरेको, पूर्वाधार नै नभएको अवस्थामा पनि ठूलो सङ्ख्यामा रोजगारी दिलाउने भनेर गलत आश्वासन दिएको आरोप लगाइएको छ। दुवै जनालाई ६६ लाख ५० हजार रुपियाँ बिगो तथा भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*