राजनीतिक स्थिरता र संसद्को पूर्ण कार्यकालको सुनिश्चिततका लागि माओवादीसँग सहकार्य : देउवा

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा अझै प्रतिगमनको खतरा रहेकाले माओवादीसहितका दलसँग सहकार्य गरिरहेको बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत माग्दै राखेको प्रस्तावमाथिको छलफलमा बोल्दै देउवाले यसअघि पटक–पटक संसद् विघटन गर्दै देशलाई प्रतिगमनतर्फ लैजाने हर्कत भएको र फेरि त्यो दोहोरिन नदिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको रूपमा समर्थन गरेको बताउनुभयो । उहाँले लोकतान्त्रिक व्यवस्थालाई उल्टाउने षड्यन्त्रस्वरूप २१ महिनाअघि दुई पटक संसद् विघटन भएको स्मरण गर्दै त्यो बेला व्यवस्था जोगाउन विभिन्न दल मिलेको र अहिले पनि त्यसलाई नै निरन्तरता दिएको पनि बताउनुभयो ।
गठबन्धनकै कारण संसद् पूर्ण कार्यकाल चलेको र देशमा तीन वटै तहका चुनाव तोकिएको समयमै भएको देउवाले बताउनुभयो । गएको पुस २६ गते पनि देशमा राजनीतिक स्थिरताका लागि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको र अहिले पनि समर्थन गरेको देउवाको भनाइ छ ।