संसदमा उठेका कुराहरूकाे सरकारबाट ‘रेस्पाेन्स’ खाेइ ? : रघुजी पन्त

जनपत्र
५ चैत्र २०७९, आईतवार १६:२४

काठमाण्डाै – नेकपा एमालेले संवैधानिक परिषद्सम्बन्धी विधेयक प्रधानमन्त्री आफैँले संसदमा प्रस्तुत गर्नका लागि रुलिङ माग गरेकाे छ । आइतवार बसेको प्रतिनिधि सभाको बैठकमा सरकारका तर्फबाट संवैधानिक परिषद्सम्बन्धी विधेयक पेस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा रोस्ट्रममा गएपछि एमाले सांसदहरूले विरोध गर्दै प्रधानमन्त्रीलाई नै विधेयक प्रस्तुत गर्न सभामुख देवराज घिमिरेसँग रुलिङ माग गरेका हुन् ।

नेकपा एमालेका सांसद रघुजी पन्तले संवैधानिक परिषद्सम्बन्धी विधेयक प्रधानमन्त्रीले प्रस्तुत गर्नुपर्ने र प्रधानमन्त्री संसदमा भएको बेलामा अन्य मन्त्रीलाई किन लगाइयो भन्ने औचित्य पुष्टि गर्न माग गर्नुभयो । उहाँले प्रधानमन्त्री हुँदाहुँदै अर्को मन्त्रीलाई पेस गर्न दिनु संसद्को गरिमालाई अवहेलना गर्नु रहेको बताउनुभयो । उहाँले सरकारले संसदमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ नदिएको भन्दै प्रधानमन्त्रीलाई यसबारेमा पनि जवाफ दिन सभामुखसमक्ष रुलिङ माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो संसदको गरिमा त्यस बेलासम्म रहन्छ जब सरकार जन्माउने यो संसद्लाई प्रधानमन्त्रीले, सरकारले महत्त्व दिन्छ । यो संसदभित्र विधेयक प्रस्तुत गर्ने प्रधानमन्त्री हुँदाहुँदै प्रधानमन्त्रीले प्रस्तुत गर्ने विधेयकलाई अर्को मन्त्रीलाई ट्रान्सफर गर्नुको औचित्य के हो ? यो भनेको संसद्को गरिमालाई अवहेलना गर्नु हो । संसदमा उठेका कुराहरूको सरकारबाट रेस्पोन्स खाेइ ? यत्रो दिन भइसक्यो संसद् चलेको । सभामुख महोदयले प्रधानमन्त्रीलाई यी सबै कुराको उत्तर दिन र यो विधेयक प्रधानमन्त्रीलाई नै प्रस्तुत गर्न लगाउन रुलिङ होस् ।’

त्यस्तै नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले संवैधानिक परिषद्सम्बन्धी विधेयक प्रधानमन्त्रीले नै पेस गर्नुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री हुँदाहुँदै अर्को मन्त्रीलाई पेस गर्न लगाउनु उचित नहुने बताउनुभयो । सांसद भट्टराईले संवैधानिक परिषद्सम्बन्धी विधेयक अर्को मन्त्रीलाई दिनुको औचित्य पुष्टि गर्न चुनौती पनि दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*