प्रचण्ड आफैंले अस्थिरताको अगुवाइ गर्दैछन् : गोकर्ण विष्ट

हेटौंडा । नेकपा एमालेका सचिव गोकर्ण विष्टले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा अस्थिरता निम्ताउने कामको अगुवाइ गरिरहेको आरोप लगाएका छन् ।
प्रेस चौतारी मकवानपुर शाखाले हेटौंडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रचण्डले देशभित्र र बाहिरका शक्ति केन्द्रको स्वार्थमा काम गरिरहेको टिप्पणी गरे ।
‘देशमा राजनीतिक अस्थिरता निम्त्याउने, अन्यौलता निम्त्याउने बर्बादीको दिशातिर लैजाने कामको नेतृत्व देशभित्र र बाहिर रहेका विभिन्न शक्तिकेन्द्रको आडमा वा उनीहरुको स्वार्थलाई सेवा पुर्याउने गरी उहाँले भूमिका निर्वाह गर्नुभएको छ’ उनले भने, ‘एकप्रकारले अस्थिरता निम्त्याउने कामको अगुवाइ, मुख्य भूमिका सम्माननीय प्रधानमन्त्रीले निर्वाह गर्नुभएको छ । यो उहाँको लागि स्वयं आफैंले थापेको धराप सावित हुनेछ ।’
नेकपा एमालेसँग मिलेर माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेपनि २ महिना बित्न नपाउँदै सहमतिलाई तोडेर प्रचण्डले अवसरवाद देखाएको विष्टले बताए । ‘यो अवसरवाद राष्ट्रको समृद्धि, जनताको जीवन रुपान्तरणको लागि नेपालको राजनीतिमा प्रगतिको कालो बादलको रुपमा देखापरेको छ’ उनले भने ।