नेप्सेमा धर्ना दिन पुगेका ३ जना लगानीकर्ता पक्राउ

जनपत्र
३ चैत्र २०७९, शुक्रबार १३:५९

काठमाण्डौ – भद्रकालीमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कार्यालयमा धर्ना दिन पुगेका लगानीकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

पुँजीबजार सुधारका लागि नेपाल राष्ट्र बैंकका तत्कालीन डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको सुझाव प्रतिवेदन कार्यान्वयनको माग राख्दै लगानीकर्ताहरू आज बिहान नेप्से कार्यालय घेराउ गर्न पुगेका थिए ।

निषेधित क्षेत्रमा धर्ना बसेपछि तीन जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त अनामनगर लगिएको प्रहरी वृत्त अनामनगरका प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । लगानीकर्ता तिलक कोइराला, नयन बाँस्तोला र अर्जुन कोइरालालाई गिरफ्तार गरिएको छ । पुँजी बजारसम्बन्धी सुझाव प्रतिवेदन कार्यान्वयनको माग लिएर लगानीकर्ता नेप्सेको कार्यालयमा भेला भएका थिए ।

कार्यालय पुगेका लगानीकर्तालाई नेप्सेका कम्पनी सचिव मुराहरी पराजुलीले छलफलमा बस्न भने पनि लगानीकर्ताले अध्यक्षसँग बाहेक अरूसँग कुरा नगर्ने भन्दै धर्ना दिएर बसेका थिए ।

कोइरालाले पुँजी बजार सुधारका लागि सुझाव प्रतिवेदन कार्यान्वयनको माग राखेको बताउनुभयो । ‘हाम्रो माग ५८ बुँदे सुझाव प्रतिवेदन कार्यान्वयन होस् भन्ने हो । पटक–पटक आग्रह गर्दा पनि कार्यान्वयन नभएपछि त्यो प्रतिवेदनका सबै सुझाव अक्षरशः पालना हुनुपर्छ भनेर दबाब दिन भेला भएका हौँ’, उहाँले भन्नुभयो ।

पुँजी बजार सुधारका लागि झन्डै पाँच वर्षअघि तयार पारिएको ‘मुद्रा तथा पुँजीबजारमा देखिएका प्रवृत्तिको समग्र मूल्याङ्कन गरी वित्तीय स्थायित्व एवं लगानीका लागि स्रोत व्यवस्थापनसम्बन्धी सुझाव समितिको प्रतिवेदन २०७५’ का सुझाव पालना हुनुपर्ने लगानीकर्ताको माग छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*