कर्णाली प्रदेशसभा बिजनेसबिहीन, सुस्तायो सरकार

सुर्खेत । कर्णालीमा गठन भएको तीन महिना बितिसक्दा पनि प्रदेशसभाले बिजनेस पाएको छैन । जसले गर्दा प्रदेशसभा अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
१८ पुसमा प्रदेशसभाको पहिलो बैठक बसेयता हालसम्म सभामुख र उपसभामुख चयन र मुख्यमन्त्रीले विश्वासको मत लिनेबाहेक उल्लेख्य काम हुन सकेको छैन । १ माघमा सभामुख र ४ माघमा उपसभामुख चयन भएका थिए भने ६ माघमा मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिएका थिए । त्यसपछि प्रदेशसभाको बैठक नै बसेको छैन ।
केन्द्रमा सत्ता समीकरणमा भएको हेरफेरले प्रदेश सरकारसमेत प्रभावित भएपछि संसदीय गतिविधि ठप्प छ । प्रदेश सभाका प्रमुख सचिव जीवराज बुढाथोकी ३ चैतमा उपराष्ट्रपति चुनाव भएपछि प्रदेशसभाको बैठक बस्न सक्ने बताउँछन् ।
‘अहिले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावले गर्दा संसदीय गतिविधिमा प्रभाव पारेको छ’, उनले भने, ‘सदन चल्नलाई सरकारले आवश्यक बिजनेस दिनुपर्छ । सरकारले बिजनेस नदिँदा गतिविधि सञ्चालन हुन सकिरहेको छैन ।’