मध्यपहाडी लाेकमार्ग : पोखराको लामाचौर, बाटुलेचौर क्षेत्रका स्थानीय आन्दोलनमा

जनपत्र
२ चैत्र २०७९, बिहीबार १२:४१

कास्की – राष्ट्रिय गौरवको आयाेजना पुष्पलाल (मध्यपहाडी) लाेकमार्गअन्तर्गत पोखराको भैँसे–ज्याम्दुदेखि जौबारी–याम्दीपुलसम्मको सडककाे काम स्थानीयको विरोधपछि राेकिएकाे छ । पोखरा महानगरपालिका वडा नम्बर १६ का स्थानीयले आफ्नो घरबार नै उठ्ने गरी जानकारी नदिई राजमार्ग बनाउन रेखाङ्कन गरिएको भन्दै आन्दोलन सुरु गरेका छन्  ।

स्थानीयको आन्दोलनपछि मध्यपहाडी लाेकमार्ग योजना कार्यालयल कुश्माले वडा कार्यालय १६ लाई पत्रचार गरी विवाद समाधान भएपछि मात्र सडक निर्माणकाे काम अघि बढ्ने व्यहोराको पत्र पठाएर बुधवारदेखि काम रोकिएको हो ।

मध्यपहाडी लाेकमार्गकाे भैँसे–ज्याम्दु–मेलबोट–पानीघाट–आन्टीघर–अर्मलाकोट–कालीखोलापुल–अमलाबिसौनी–लामाचौर–जौबारी–याम्दीपुलसम्मको सडक निर्माणका लागि ठेक्का व्यवस्थापन भएपछि स्थानीयले आन्दाेलन सुरु गरेका हुन् । स्थानीयले पोखरा १६ को वडा कार्यालयमा बुधवार दुई घण्टा ताला लगाएर धर्ना दिएका थिए ।

राज्यले स्थानीयलाई जानकारी नदिई घरबार नै उठ्ने गरी लाेकमार्गका लागि रेखाङ्कन गरेकोले आन्दोलन गर्नुपरेको पुष्पलाल (मध्यपहाडी) लाेकमार्ग आयोजना पीडित सङ्घर्ष समिति पोखरा १६ का सचिव सन्दिप थापाले बताउनुभयाे । उहाँले पहिलो रेखाङ्कन जहाँबाट थियो त्यहीँबाटै सडक लैजानुपर्ने बताउनुभयाे ।

मध्यपहाडी लाेकमार्गअन्तर्गत पोखरा क्षेत्रमा गरिएको अघिल्लो रेखाङ्कनबाट बजार क्षेत्रका धेरै घर पर्ने भएपछि ग्रामीण क्षेत्रको विकास गर्ने उद्देश्यले रेखाङ्कन परिर्वतन गरेको पुष्पलाल राजमार्ग योजना कार्यालय कुश्माका योजना प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयाे । सबैकाे सहमतिअनुसार नै सडकको काम अगाडि बढ्ने उहाँकाे भनाइ छ ।

पहिलो रेखाङ्कन हेम्जाको तिब्बती क्याम्पबाट जौबारी पुल–लामाचौर–बाटुलेचौर–मितरी अस्पताल–भलाम–मनिपाल पछाडि हुँदै फूलबारी–माटेपानी–काहुँखोलाको बजार भएर भैँसेमा जोडिएको थियो । २०७८ फागुन २६ गतेको मन्त्रिपरिषद्को बैठकले पुष्पलाल (मध्यपहाडी) लाेकमार्गअन्तर्गत पोखराको भैँसे–ज्याम्दुदेखि जौबारी–याम्दीपुलसम्मको सडकको रेखाङ्कन स्वीकृत गरेको थियो ।

यस खण्डको ३५ किलोमिटर सडक तीन अर्ब ४२ करोड रुपैयाँ लगानीमा बन्न लागेको आयोजनाले जनाएको छ । राजमार्ग निर्माणको ठेक्का तीन वर्षमा सक्ने गरी स्वच्छन्द एपेक्स जेबी काठमाण्डौले पाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*