एक शिक्षकको भरमा विद्यालय

जनपत्र
२७ फाल्गुन २०७९, शनिबार १०:०७

बाग्लुङ – वरपर सुनसान जङ्गल । जङ्गलको छेउमै छ टोकरी गाउँ । कुनै बेला निकै चहलपहल हुने यो गाउँ अहिले उराठ बनेको छ । त्यही गाउँ छेउमै ढुङ्गा, काठ र माटोले बनेको एउटा जीर्ण विद्यालय छ । त्यस विद्यालयमा थोरै विद्यार्थी भए पनि कक्षा पाँचसम्म पढाइ हुन्छ । कक्षा पाँचसम्मको विद्यालय अहिले एउटा शिक्षिकाको भरमा चलेको छ ।

विद्यालयका प्रधानाध्यापक सेवानिवृत्त भएपछि एक महिनादेखि गलकोट नगरपालिका–७ टोकरीगाउँमा रहेकाे देउराली प्राथमिक विद्यालयमा स्थानीय ज्योति थापाले पढाउँदै आउनुभएको छ । एक महिना अगाडि प्रधानाध्यापक केयरसिंह थापा सेवानिवृत्त हुनुभयो । अर्का एक शिक्षिकाले विवाह गर्नुभयो । त्यसपछि विद्यालयको सबै जिम्मेवारी शिक्षिका ज्योति थापाको काँधमा आयो । विद्यालयमा १९  विद्यार्थी छन् । कक्षा तीन र चार खाली छ । अहिले कक्षा एक, दुई र पाँचमा पढाइ हुन्छ । कक्षा एकमा १०, कक्षा दुईमा पाँच र कक्षा पाँचमा चार विद्यार्थी अध्ययनरत छन् ।

तीन वटा कक्षाका विद्यार्थीलाई पठनपाठन एक्लै गराउँदा समस्या भएको शिक्षिका थापा बताउनुहुन्छ । विद्यालयमा अझै दुई/तीन जना शिक्षकको आवश्यकता छ । ‘एक्लै छु, घरमा अपरझट काम पर्दा, बिरामी परे भने विद्यालय नै बन्द हुन्छ, सबै विद्यार्थीलाई एकै ठाउँ राखेर पढाउने गरेको छु’, शिक्षिका थापाले भन्नुभयो, ‘प्रअ सरले अवधि पुगेर राजीनामा दिनुभयो, रुपा मिस विवाह बिदामा हुनुहुन्छ, अस्ति दुई दिन आउनुभएको थियो, त्यसपछि आउनुभएको छैन ।’ शिक्षिका थापाले अहिले विद्यार्थीलाई बहुकक्षा शिक्षा प्रणालीअनुसार अध्यापन गराइरहनुभएको छ ।

कुनै बेला विद्यार्थीले भरिभराउ हुने देउराली प्राथमिक विद्यालय मात्र होइन बढ्दो बसाइँसराइले गाउँ नै सुनसान बनेको छ । विद्यालयमा दुई जनाको स्थायी दरबन्दी रहे पनि अहिले रिक्त छ । अहिले एक्लै अध्यापन गराउँदै आउनुभएकी ज्योति थापालाई केही महिना अगाडि घुम्टे युवा परिवार जापानले एक वर्षको तलब दिने गरी राखेको हो ।

गलकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख रुद्रनारायण सापकोटाले विद्यालयमा दुई स्थायी शिक्षक आउने जानकारी दिनुभयो । तर, कहिले आउने यकिन नभएको उहाँको भनाइ छ । सापकोटाले स्थायी शिक्षिक नआउँदासम्म अर्को विकल्प नभएको बताउनुभयो ।

नगरपालिकाका मेयर भरत शर्मा गैरेले व्यवस्थापन समितिले अहिलेसम्म यसको बारेमा जानकारी नगराएको भन्दै विद्यालयको अवस्था बुझेर शिक्षकको व्यवस्थापन गर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*