मुद्दती निक्षेपको ब्याजदर यथावत राख्दै बचतको घटाउने, कर्जाको प्रिमियम पनि घट्दै

जनपत्र
२५ फाल्गुन २०७९, बिहीबार १२:३५

काठमाडौं । बैंकहरुले चैतमा बचतको ब्याजदर घटाएर मुद्दती निक्षेपको ब्याजदर भने यथावत राख्ने भएका छन् ।

बिहीबार बिहान बसेको बैंकर्स संघको पूर्ण बैठकले मुद्दती निक्षेपको ब्याजदर यथावत राख्दै बचतको ब्याजदर भने ०.४ प्रतिशत बिन्दुले घटाउने निर्णय गरेको बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले बताए ।

बचतमा ६.४ प्रतिशत देखि ८.४ प्रतिशत रहेको ब्याजदर चैतमा ६ प्रतिशत देखि ८ प्रतिशत कायम राख्ने उनले बताए । राष्ट्र बैंकले मुद्दति निक्षेपको अधिकतम ब्याजदर र बचतको न्युनतम ब्याजदर बीचको अन्तर ५ प्रतिशत भन्दा बढी हुन नहुने व्यवस्था गरेको छ । साथै बचतको माथिल्लो र तल्लो ब्याजदर बीचको अन्तर अधिकत २ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था छ । राष्ट्रबैंकको निर्देशन भित्र रहेर मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशतलाई कायम राखेर बचतको ब्याजदर ६ प्रतिशतदेखि ८ प्रतिशत कायम राख्ने निर्णय बैंकर्स संघले गरेको हो ।

यस्तै कर्जामा पनि बेस रेटमा ५ प्रतिशत भन्दा बढी ब्याज नलिने निर्णय भएको उनले बताए । ‘मुद्दती निक्षेपको ब्याजदर यथावत राख्दै बचतको ब्याजदर ०.४ प्रतिशत विन्दुले घटाउने निर्णय भएको छ,’ माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका बैंकर्स संघका उपाध्यक्ष कोइरालाले भने, ‘कर्जामा पनि बेस रेटमा ६ प्रतिशतसम्म प्रिमियमा रहेकोमा अब बढीमा ५ प्रतिशत प्रिमियम कायम गर्ने सहमति भएको छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*